Showing posts with label लघु कथा. Show all posts
Showing posts with label लघु कथा. Show all posts

अन्तिम निर्णय

0


अचानक आधा रातको समयमा गाउँमा हल्लखल्ला मच्चिन थालेको हुनाले गाउँलेहरू अत्तालिँदै यताउता दगुर्न थालेका थिए । कतिपय गाउँलेहरूले त खास कुरो के हो, त्यो पनि बुझ्न सकेका थिएनन् । जब केहीबेरमै नकाबधारी डाँकाहरूको जत्था घरघरमा पसेर लुटपाट गर्न थालेपछि भने गाउँलेहरूको होस उडेकोझैँ भएको थियो ।

ती नकाबधारी लुटेराहरूले मानिसहरूको कञ्चटमा बन्दुक र पेस्तोल तेस्र्याएर आफ्नो मनोमानी गरिरहेका थिए । गाउँलेहरूका घरका सर-सामान मात्र लुटेर ती यौनपिपासु डाँकाहरूलाई सन्तुष्टि मिलेको थिएन । उनीहरूले घरका पुरुष सदस्यहरूको हातखुट्टा बाँधिदिएर उनीहरूलाई भुइँमा लडाएपछि उनीहरूकै आँखा अगाडि घरका स्त्रीहरूको शरीर लुछाचुँडी गरेर भोग गर्न पनि पछि परेनन् ।
त्यसपछि रातको चौथो प्रहरमा ती लुटेराहरू आफूले लुटेको सरसामानसहित सीमावर्ती क्षेत्रतिर भागेका थिए ।
यो घटना घटेको बेला नरप्रसाद आफ्नी गर्भिणी पत्नी र सात वर्षीया छोरी सरस्वतीलाई लिएर भारतस्थित आफ्नो ससुराली भए ठाउँतिर गएका थिए ।
नरप्रसादले आफ्नो गाउँ फर्किन अगावै गाउँमा डाँकाहरू पसेर उत्पात मच्चाएको कुरा विभिन्न सञ्चार माध्यमद्वारा थाहा पाइसकेका थिए तर जब गाउँ फर्केपछि उनले गाउँलेहरूको मुखबाट त्यस हृदयविदारक घटनाको यथार्थ विवरण सुने तब आक्रोशले उनको मुठ्ठी कस्सिएको थियो ।
"के गर्ने भाइ ! ती डाँकाहरू सबै आधुनिक हतियार लिएर गाउँ पसेका थिए । त्यसकारण ती हतियारबन्द डाँकाहरूको अघि हाम्रा निरस्त्र गाउँलेहरू आखिर कतिबेर टिक्न सक्थे र ?" नरप्रसादको घरको पिँढीमा बसेर उनीसँग कुरा गर्दै गरेका उनका छिमेकी महेश्वरले पीडायुक्त स्वरमा नरप्रसादसँग भनेका थिए । "अनि उसो भए गाउँमा कसैले पनि त डाँकाहरूको प्रतिकार गरेनन् त ?" नरप्रसादले प्रश्न गरेका थिए । "गरेका थिए, किन नगर्नु तर प्रतिकार गर्ने मानिसलाई बन्दुकको कुन्दा र बुटले हानेर मरणासन्न अवस्थामा पुर्याएर छाडे । त्यै भएर त नगेन्द्र अहिलेसम्म अस्पतालमा उपचार गराउँदैछन् । उसकी स्वास्नीलाई पनि डाँकाहरूले उसैको आँखा अगाडि सामूहिक बलात्कार गरेका थिए । नगेन्द्रले प्रतिकार गर्न खोजेको थियो । डाँकाहरूले उसका दुवै हात भाँचिदिए" महेश्वरले भने । "हेर भाइ ! खेती गर्नको निम्ति जसरी अडिलो आली लाउनु पर्छ, त्यसैगरी कुनै पनि देश थाम्नको निम्ति बलियो काँध हुनु आवश्यक छ । हामी मैदानमा बसेकाहरूले देशको चार किल्ला थामेर बसेका छौँ । यसर्थ हाम्रो रक्षाको जिम्मेवारी सरकारले लिनै पर्दछ तर यहाँ सब कुरो उल्टो भइरहेको छ । जे जति सुविधा प्राप्त भएको छ, त्यो हामीसम्म आई पुग्दै पुग्दैन । अस्ति भएको घटनाकै कुरा लिउँ, डाँकाहरूले हाम्रो गाउँमा पसेर जथाभावी उत्पात मच्चाएर गए । हामीले हाम्रा पीडा, मर्का सरकारसमक्ष राख्यौँ तर खोइ ! उसले के गर्यो ? विभिन्न सञ्चार माध्यमहरूले व्यङ्ग्यको झटारो हान्न थालेपछि बल्लतल्ल प्रशासनको तर्फबाट दुई-चार जना कर्मचारीहरू आए र सर्जमिन गरेर गए । त्यसपछि अहिलेसम्म कसैले पनि चासो देखाएका छैनन् । यस्तै छ यहाँको चाला, 'जुन जोगी आए पनि कानै चिरेको' महेश्वरले निकै लामो वक्तव्य दिँदै भने ।
"होइन दाइ ! अब हामीले पनि आफ्नो गाउँको सुरक्षाको निम्ति केही न केही उपाय त गर्नैपर्छ ।" महेश्वरको कुरा सुनेपछि उत्तेजित हुँदै भनेका थिए नरप्रसादले । "हो, ठीकै भन्यौ भाइ तिमीले । हामी आफैँले पनि आफ्नो गाउँको सुरक्षाको निमित्त सकेसम्म उपाय गर्नैपर्दछ । अहिलेलाई हामी गाउँलेहरू सबै मिलेर सल्लाह गरेअनुसार समूहसमूह बनाएर पालैपालो राति पहरादिने गरेका छौँ । आज तिमी थाकेको हुनाले पालो दिन पर्दैन भोलिदेखि भने हामीले पनि पालो दिन जानुपर्छ" नरप्रसादको कुरा सुनेपछि महेश्वरले भने- "अँ... तिम्रो पालो परेको बेला चाहिँ सरस्वतीलाई हाम्रा केटाकेटीहरूसँग सुत्न पठाइदिए हुन्छ ।" महेश्वरले भनेका थिए । "ए....... मैले त बुहारीको स्वास्थ्यबारे सोध्छु भन्दाभन्दै भुसुक्कै बिर्सिएँछु । साँच्चै बुहारीको विषयमा डाक्टरले के भने ?" महेश्वरले फेरि कुरो थप्दै प्रश्न गरेका थिए ।
"शरीरमा कमजोरी बढी छ अरे । बच्चा नजन्मदासम्म ज्यादै परिश्रम गर्नु हुँदैन भनेका छन् । गतिलो खालका खानपान र आरामको आवश्यकता छ भने । त्यसैकारण सासू-ससुराले बच्चा नजन्मदासम्म हामी नै राखेर स्याहार गर्छौँ भनेका हुनाले उतै छोडेर आएँ । यो छोरी पनि उतै आमासँगै बस्छु भनेर ढिपी गर्दै थिई । यता गाउँमा स्कुलको जाँच आउन लागेको हुनाले आफैसँग लिएर आएँ ।" नरप्रसादले भने ।
"ठीकै गर्यौ । बुहारीको स्वास्थ्य ज्यादै नै खस्केको थियो । पछि स्वास्थ्य लाभ गरेपछि त आइहाल्छिन् नि ... ल, म जाउँ अब ।" भन्दै महेश्वर उठेर आफ्नो घरतिर लागे ।
त्यसपछि करिबकरिब चार महिनापछि एक रात फेरि गाउँमा डाँकाहरूले आक्रमण गरे । गाउँलेहरूले पनि आफूसँग जे जस्तो हतियार, लाठी आदि थिए, त्यसैको भरमा सकेसम्म भिडेर लडेका थिए तर अन्त्यमा ती बन्दुकधारी डाँकाहरूको अघि उनीहरू परास्त हुन बाध्य भए । उही पहिले घटेको घटनाको फेरि पुनरावृत्ति भयो । यसपटक पनि पहिलेकोझैँ डाँकाहरूले बन्दुकको त्रास देखाएर मानिसहरूलाई निर्मम तरिकाले कुटपिट गरेर लुटपाट र बलात्कारजस्ता घृणाजन्य कार्य गरे । उनीहरूले वस्तुभाउ खोेलेर लगे, अनि जाँदाजाँदै दुई-चारओटा घरमा आगो पनि झोसेर गए ।
अर्को दिन बिहान झलमल्ल घाम लागिसक्दासम्म पनि गाउँलेहरू आफ्नो घरदेखि बाहिर निस्कन डराइरहेका थिए । लोग्ने मानिसजति आफ्नो विवशताको कारणले गर्दा मलिन अनुहार पारेर एकोहोरिइरहेका थिए भने बलात्कृत स्त्रीहरूको अत्यन्त पीडादायक मन्द रोदन अझ थामिइसकेको थिएन । बालबालिकाहरू भयको कारणले गर्दा आमाको वरिपरि गुजुल्टिएर बसेका थिए । उनीहरूको काँतर दृष्टिमा अघिल्लो रात घटेको त्रासदिपूर्ण घटना चलचित्रझैँ रिङ्गरिहेको थियो । उनीहरू एक क्षणको निम्ति पनि आफ्ना अभिभावकदेखि पर हुन चाहेका थिएनन् ।
बिहानको निकै समय घर्केपछि जब गोठमा बाँकी भएका वस्तुभाउहरू भोकाले कराउन थाले, तब एकएक गरेर विस्तारैविस्तारै मानिसहरू ढोकाबाट बाहिर निस्कनुभन्दा अघि चारैतिर पल्याकपुलुक हेर्दै बाहिरिन सुरु गरेका थिए ।
त्यो रातको भिडन्तमा गाउँका केही मानिसहरूलाई सामान्य चोट लागेको थियो भने पाँच जना गाउँलेको अवस्था ज्यादै गम्भीर भएको थियो । यति मात्र होइन, गाउँदेखि अलि परको खेतमा गाउँका चारओटि किशोरीहरूको निर्वस्त्र देह कहालीलाग्दा अवस्थामा भेटिएका थिए । ती किशोरीहरूको सारा शरीरभरि नीलडाम र दाँतको चिन्ह स्पष्टरूपमा देखिएका थिए । उनीहरूलाई अर्थचेतन अवस्थामा अस्पताल पुर्याउँदा पुर्याउँदै तीनओटी किशोरीहरूको बाटोमै मृत्यु भयो । एउटी भने डाक्टरहरूको अथक प्रयासले गर्दा बाँच्न सफल भएकी थिई ।
"आ...मा..... । आमा.... ! मलाई बचाऊ" त्यो किशोरीले होस आउनासाथ आर्तनाद गर्दै अस्पतालको ओछ्यानमा छट्पटाउन थालेकी थिई । घर आएपछि पनि उसको मानसिक अवस्था सामान्य हुन सकेको थिएन । कुनै पनि लोग्ने । मानिसलाई देख्नासाथ किशोरी रुने, चिच्याउने गर्दै लुक्ने ठाउँ खोज्ने प्रयास गर्दथी । यहाँसम्म कि राति पनि ऊ अचानक ब्यूँझेर रुने, चिच्याउने गर्न लागेकी थिई ।
उसको त्यस प्रकारको दारुण अवस्था देखेर सबैको मन पीडाले भरिन्थ्यो ।
"बाबा ! अञ्जु, शकुन्तला, बिनु र रमिला दिदीहरूलाई डाँकाहरूले किन खेतमा लगेर कुटेका हुन् ? उनीहरूले अञ्जु, शकुन्तला र बिनु दिदीहरूलाई किन मारे ?" गाउँका अन्य बालबालिकाले आफ्ना अभिभावकहरूसँग प्रश्न गरेझैँ नरप्रसादकी छोरी सरस्वतीले पनि आफ्नो बाबुसँग बारम्बार यही प्रश्न गर्दथी ।
आफ्नी अबोध छोरीले गरेको प्रश्न सुइरोसरह बनेर नरप्रसादको छातीमा गड्दथ्यो । "छोरी ! अब तिमी मावलमा लेखपढ गर्नुपर्छ है । उतै बसेर धेरै पढ्ने ।" एक दिन साँझपख छोरीको छेवैमा बसेर निकै गम्भीर स्वरमा भनेका थिए नरप्रसादले ।
"हामी मामाघर कहिले जाने बाबा ?" मावल जाने कुराले निकै उत्साहित हुँदै प्रश्न गरेकी थिई सरस्वतीले ।
"भोलि, भोलि बिहानै म तिमीलाई तिम्रो मावल लिएर जान्छु ।" नरप्रसादले भनेका थिए । "तपाईं पनि उतै हामीसँगै बस्नोस् न बाबा ! यहाँ त डाँकाहरू आउँछन् ।" सरस्वतीको मनभित्रको त्रास शब्दद्वारा व्यक्तिएको थियो । "होइन छोरी, म त्यहाँ बस्न मिल्दैन । यहाँ हाम्रो घरजग्गा छ । हामी यहीँ बस्नुपर्छ ।" दृढ स्वरमा बोलेका थिए नरप्रसादले ।
राति खानपिन सिध्याएपछि नरप्रसादले छोरीलाई ओछ्यानमा सुताएपछि उसले ओढेको कपडा ओढाइदिँदै भने "तिमी ढुक्क भएर सुत है छोरी ! म यहीँ बाहिर पिँढीमा बस्छु ।"
"नाइँ बाबा ! मलाई डर लाग्छ । तपाईं पनि भित्र सुत्नुस् न ... ।" सरस्वतीले आग्रहपूर्ण स्वरमा भनी ।
"होइन, तिमी डराउनै पर्दैन । यी मसँग खुकुरी पनि छ । यो देखेपछि डाँकाहरू भागिहाल्छन् नि ।" नरप्रसादले छोरीलाई ढाडस दिँदै भने ।
त्यसपछि उनी दैलो खोलेर बाहिर गए अनि बाहिरबाट दैलो तानेर ढप्काएपछि पिँढीमा गएर बसे ।
रात निकै छिप्पिइसकेको थियो, अचानक गाउँका कुकुरहरू जोडजोडसँग भुक्न लागेका हुनाले बसेकै ठाउँमा निद्राले झुल्दै गरेका नरप्रसादको तन्द्रा भङ्ग भएको थियो । छेउमा राखेको खुकुरी हातमा लिएर नरप्रसाद आँगनमा गए र उभिएर परपरसम्म आफ्नो दृष्टि पुर्याए । जुनेली रात भएको हुनाले टाढासम्म छर्लङ्ग देख्न सकिन्थ्यो । अहँ उनले कतै केही देखेनन् । यी कुकुरहरू यसै त नभुक्नुपर्ने हो... । उनले मनमनै सोचे र आएर फेरि पिँढीमा बसे ।
"बाबा ! बाबा ! मलाई डर लागेको छ । तपाईं भित्र आउनुस् र दैलोको आग्लो लाइदिनोस् न ...।" भित्रबाट झिनो स्वरमा सरस्वतीले भनी ।
"ल, ल, म आएँ ... ।" भन्दै नरप्रसाद भित्र कोठामा गए । सरस्वती डरले खाटमा टुक्रुक्क बसेकी थिई ।
"ल.. किन डराएकी ? म छँदै छु नि ।" नरप्रसादले स्नेहवश छोरीको टाउकोमा मुसार्दै भने ।
"कुकुरहरू कति जोडजोडसँग भुकिरहेका छन् । बाबा । डाँकाहरू आए होलान् । अब डाँकाहरूले मलाई पनि खेतमा लगेर मार्छन् ।" डरले अनुहार फुस्रो भइसकेकी सरस्वतीले पिताको हात समातेर कम्पित स्वरमा भनी ।
"पख ! म दैलो बन्द गरेर आउँछु । म पनि यहीँ सुत्छु । नडराऊ । केही हुँदैन ।" छोरीको दयनीय अवस्था देखेर भित्रभित्रै सशङ्कित भएका नरप्रसादले कोमल स्वरमा आश्वासन दिँदै भने ।
नरप्रसाद उठेर दैलो बन्द गर्दा नगर्दै गाउँमा एक्कासि कोलाहल मच्चिन थालेको थियो । नरप्रसाद ढोका बाहिर निस्केर आँगनमा पुगे । "ओहो ! गाउँमा साँच्चै नै फेरि डाँकाहरू पसेका रहेछन् । नरप्रसादले हेर्दाहेर्दै गाउँका तीन-चारओटा घर आगोमा जलिरहेका थिए । आइमाई, केटाकेटीहरू गुहार माग्दै यताउति दगुर्दै थिए । बेलाबेलामा बन्दुक पड्केको आवाज पनि आएको थियो । नरप्रसादलाई के गरुँ ! के नगरुँ ! भयो । नरप्रसादका आँखाअघि अचानक रगतमा लतपत भएर अर्धमृत अवस्थामा खेतमा लडिरहेका किशोरीहरूको हृदयविदारक देह रिङ्न थाल्यो उनले तत्कालै केही निर्णय गरिहाले अनि हतपत्त घरभित्र पसेर दैलोमा आग्लो लाए ।
त्यसपछि छोरीलाई जुरुक्क उचालेर काँधमा राखे अनि घरको पछाडिपट्टकिो झ्याल खोलेर अर्को हातमा खुकुरी लिएर उनी बाहिरिए ।
नरप्रसाद दौड्दै गए, दौड्दै गए । "बाबा ... मलाई डर लागेको छ । डाँकाहरू ऊ परबाट हामीलाई खेद्दै आउँदै छन् । बाबा ... छिटो दौड्नुस न ।" कम्पित स्वरमा सरस्वती बोल्दै थिई ।
नरप्रसादले एकपटक क्षणभरको निम्ति दौड्दै गएका पाइला रोके र पछि फर्केर हेरे । साँच्चै नै केही मानिसहरू दगुर्दै उनीहरूतिर आइरहेका थिए ।
एकाएक नरप्रसादको नौनाडी गलेर आयो । ती डाँकाहरूले आफूहरूलाई खेद्दै आउनुको कारण उनीहरूको कुनियत हो भन्ने कुरा उनले स्पष्टसँग बुझिसकेका थिए ।
अचानक नरप्रसादले वेगसँग दौडन् प्रयत्न गरे तर उनका पाइला त्यसैत्यसै फतक्क गलेझैँ भयो । उनलाई वाक्वाकी लागेजस्तो पनि भयो । उनले यताउति हेरे । जङ्गल उनीबाट करिब सयमिटर जति पर थियो । नरप्रसाद दगुरेर जङ्गलभित्र छिर्न चाहन्थे तर सक्दै सकेनन् । उनले हतास भएर आफ्नो नजर वरपर घुमाए । केहीपर बडेमानको ढुङ्गो थियो । नरप्रसाद भएभरका शक्ति बटुलेर बल्लतल्ल त्यहाँ पुगे । उनले ढुङ्गाको पछाडि छेलिएर सरस्वतीलाई काँधबाट ओरालेर भुइँमा राखे र आफू पनि त्यहाँ घुँडा टकेर बसे । सरस्वतीको देह अझै पनि काँपिरहेको थियो । डरले लगलग कामिरहेकी सरस्वती अस्फुट स्वरमा बडबडाउँदै थिई । नरप्रसादले केही क्षणसम्म अश्रुपूर्ण दृष्टिले छोरीलाई हेरिरहे । अचानक सरस्वती बाउको घुँडामाथि घुप्लुक्क घोप्टो परी ।
नरप्रसादले परतिर मानिसहरू बोलेको सुने र घाँटी तन्काएर हेरे ।
उनले देखे एक हूल हतियारधारी मानव आकृतिहरू उनीहरूतिर आउँदै थिए ।
ती मानव आकृतिहरूलाई देख्नासाथ एकाएक उत्तेजनाले नरप्रसादको सारा शरीरमा रगत उम्लिएकोझैँ भयो ।
उनले खुकुरी समातेको हात अझ कस्सियो ।
"ए भगुवा ! तँ त्यो ढुङ्गो पछाडि लुकेर छोरीलाई बचाउँछु भन्ने ठानेको छस् कि क्या हो । ज्यानको माया छ भने छोरीलाई खुरुक्क यतातिर पठाइदे कि त त्यसलाई त्यहीँ छाडेर तँ जा जङ्गलतिर । हामी तलाईं केही गर्ने छैनौँ ।"
केहीबेरमै नरप्रसाद लुकेको ठाउँ नगिचै आएर डाँकाहरूमध्ये एउटाले ठूलो स्वरमा आदेश दिएको थियो । आफ्नो नगिचै आइपुगेका ती हतियारधारी लुटेराहरूको उपस्थितिले गर्दा नरप्रसादको आत्मविश्वास क्रमशः खिइन थालेको थियो ।
"ए ... ! बहिरो होस् कि क्या हो ? हाम्रा कुरा नमानेर मर्ने मन छ कि तँलाई ? छिटो गर, नत्र हामी त्यहीँ आएर तेरो आँखाको अघि नै तेरी छोरीको कस्तो दुर्गत पार्ने छौँ, थाहा पाउलास् !" अर्को स्वरले भन्यो ।
यता पिताको घुँडामा टाउको राखेर घोप्टिएकी सरस्वतीको कम्पित देह लल्याकलुलुक भइसकेको थियो । छोरीको अकल्पनीय दारुण अवस्था देखेर नरप्रसादको हृदयमा छोरीलाई कसरी उद्धार गरुँ भन्ने कुरोको हुण्डरी मच्चिरहेको थियो । "भएन अब त आफैँ अघि बढेर उचालेर ल्याउन पर्यो ... ।" अर्को एउटा डाँकाले भन्यो ।
त्यसपछि ती लुटेराहरू छिट्छिटो पाइला चालेर अघि बढ्न थाले ।
नरप्रसादले क्षणभरमै एउटा अठोट गरे, अनि बिजुलीको गतिमा खुकुरीको धार छोरीको कोमल गर्दनमा राखिदिए ।


द्वार

0

उपत्यकामा धेरै द्वार छन् । ठाउँठाउँमा, टोलटोलमा कलात्मक, बढे ढुङ्गाका द्वार भएर भित्र-बाहिर गरिरहेछन् खचाखच मानिसहरू । द्वारमध्ये एउटा द्वारबाट सेतो पहिरनमा एउटी महिला निस्किन्छिन् । दिनदिनै समाजसेवामा जान्छिन् । अस्पताल पुगेपछि कसलाई आवश्यक परेको छ, सकेसम्म मिलाइदिन्थिन् ।
सपाङ्ग, आकारप्रकार सबै, बोलिवचन त्यस्तै, मान्छेलाई सजिलै, तुरुन्तै प्रभाव पार्न सक्ने क्षमता छँदैछ अझै ती नारीमा । सारी लगाएको असाध्यै सुहाउने प्रेमिलालाई । पाइन्ट र कुर्तामा अलि भद्दा देखिन्थ्यो- त्यतिखेर पनि । कुनैबेला बाक्ली, मोटी हिरोइन कति राम्री भनेर मीनाकुमारीलाई, अहो ! वाहवाह, कहलिएकी नै थिइन् । स्लिम हुने अहिलेका नारीको कुरा होइन यो । बीस/पच्चीस वर्ष अगाडिदेखि नै नेपाली मीनाकुमारी भन्दै हेर्नेहरू अघिपछि, वरपर देखिन्थे, झुत्तिन्थे ।
 यो नगरको खास विकास-विस्तार नहुँदै द्वारनजिकै घर बनाइदिएको थियो उनको लोग्नेले । प्रेमिलाको पनि दोस्ती लोग्ने, उनी अझै पनि दोस्री स्वास्नी, बिहे गरिरहनु परेन । जाने र ल्याउने सहमति भएपछि कतै अन्तै बस्दै आएका थिए । घर बनाएपछि भित्रिएका हुन्, यो द्वारभित्र । हुन त उनको घर पहिले बन्यो कि यो द्वार पहिले बन्यो, खोजसोध गर्नैपर्छ तर मानिसहरू भने उनी निस्किने ठीक समय पारेर त्यही द्वारमा बढी झुत्तिन्थे । त्यही द्वार नजिक रोकिने बस ट्याम्पो, ट्याक्सी र पछिपछि त निजी गाडीमा राखेर कसैले पुर्याइदिन्थ्यो- समाजसेवा गर्ने स्थलसम्म ।
एकाएक एकदिन पुस्तक विमोचनको निम्तो हातहातमा पर्यो । मुलुकमा बहुदलीय प्रजातन्त्र आएपछि पुस्तक निकाल्ने र विमोचन गर्ने क्रियाकलाप पनि हृवात्तै बढेको थियो । त्यसबेलाका सर्वोच्च नेताको हातबाट तीन युवाले आफ्ना संयुक्त पुस्तक विमोचन गराएका थिए । त्यसको लगत्तै ती तीनमध्ये एक युवाले प्रेमिलाको नाममा पुस्तक लेख्ने, छाप्ने र विमोचन गर्ने काम पाएका रहेछन् । एकैसाथ चार थान पुस्तकको विमोचनपछि वितरण र त्यही स्तरको चर्चा भएको थियो । पुस्तक लेखक भएर सार्वजनिक हुँदा सेतो सारी लगाउन छोडिसकेको थिइन् र समाजसेवाको त्यो काम पनि त्यागिसकेकी थिइन्- प्रेमिलाले । धेरैथरिका काम र सेवापछि त्यो सेवाको काम थालेकी थिइन, त्यो पनि बुझेपछि अरू नै केही सुरु गरेकी थिइन् । यो पुस्तक लेख्ने छाप्ने, चर्चा गर्ने काम पनि कसैले उक्साएपछि मात्रै थालेकी थिइन्- प्रेमिलाले । कतिपय कवि, लेखक, पत्रकारहरू कुनै महिलाको सौन्दर्यमा आशक्त भएर रचना बनाउँछन् भने कतिचाहिँ त्यस्ता फुर्सदिला महिलालाई अरूबाट लेखाएर वा आफैँले लेखिदिएर कवयित्री, कथाकार, गजलकार, मुक्तककार नै बनाइदिन्छन् ।
जनसम्पर्क बढाउँदै लगेपछि प्रेमिला कविता, कथा लेख्ने, सम्पादन गर्ने, प्रकाशन गर्ने दाजुभाइहरूसँग पनि उत्तिकै उठबस गर्न थालिन् । चौबीस घण्टाको समयमा कति समय लोग्नेलाई दिने, कति व्यापारी साहू महाजनलाई, कति समय प्रशासक, सरसाहेबहरूलाई र कति समय समाजका अन्य तथाकथित चल्तापूर्जा, नेता, अभिनेतालाई दिने, सबै मिलाउन सफल हुँदै गइन् । कवि/लेखकको सङ्गत बढेपछि र स्रष्टा हुनुमा पनि आत्मगौरव अनुभूत गर्न थालेपछि प्रेमिलाले पुस्तकमा आफ्ना किसिमकिसिमका फोटोहरू छाप्ने नै निर्णय गरेकी थिइन् । चार थान पुस्तकमा कैयौँ आकारप्रकारका तस्बिरहरू, अगाडि पछाडि, भित्र जताततै, मानौँ पाठक पढेर होइन, तस्बिरहरू हेरेर, हेरिरहेर धेरै समयसम्म पुस्तकको सम्झना र प्रशंसा गरिरहुन् भन्ने मनसाय देखिन्थ्यो- प्रेमिलाको वा उनका सहयोगीहरूको ।
कहिलेकाहीँ आउने लोग्नेले एउटा गाडीबाट एक दर्जन गाडी पुर्याइसकेको थियो । आफैँ गाडीको मालिक हो ड्राइभर नै भन्ने थाहा पाएपछि प्रेममा चुर्लुम्म डुबेकी थिइन् प्रेमिला-त्यतिखेर । जाँदा-आउँदा प्रेमले नुहाएर सिङ्गारेर पठाउने गर्थिन् । केही महिनापछि त ड्राइभरले 'लान्छु' भन्यो । बिहे गरेकी, लोग्नेले छोडिसकेको थियो । प्रेमिलाले पनि 'हुन्छ' भनेकी थिइन्-खुसीसाथ । अनि त ड्राइभरले अघिल्लो सिटमा राखेर क्षणक्षणमा हेर्दै हाँस्दै उपत्यका भित्र्याएको थियो- गाडी, प्रेमिला र आफूलाई । घरमा स्वास्नी, छोराछोरी भएकाले बाहिर कोठा लिएर राखेको थियो- गाडी मालिकसहितको त्यो ड्राइभरले ।
केही वर्ष बित्दा नबित्दै गाडीहरू अझ बढ्दै गए । प्रेमिलाको व्यवहारमा जो कोही यसरी लठ्ठन्िथ्यो कि धनाढ्यहरू कतिले त उनको अनुहार, बोलीवचन, शरीर नहेरी चित्त बुझाउँनै सक्दैन्थे । अनि त स्वतः गाडीहरू थपिंदै  गए । केही गाडी आफ्नै स्वामित्वमा थिए प्रेमिलाको । घर पनि त उनकै नाममा छुट्टै बनाइदिएको हो- लोग्नेले । कहिलेकाहीँ मात्रै आउने लोग्ने तर प्रेमिलाको भने ठूलो जालो फैलिसकेको थियो- जनसम्पर्कको । समय लिएर मिलाएर आउनुपथ्र्यो, प्रेमिलालाई भेट्न जो कोही । 'लोग्ने' भनाउँदो पनि फोन गरेर मात्रै आउँथ्यो । बढी शक्ति र अर्थ खेलाउनेले नै धेरै समय पाउँथे । केही वर्ष बित्दा नबित्दै धान्नै नसकिने जनसम्पर्क बढेपछि गाउँबाट चेलीहरू झिकाउन बाध्य भएकी थिइन् प्रेमिला । अनि त जो कोहीलाई अलमल्याउन सजिलो भएको थियो- प्रेमिलालाई । जसले जस्तो भन्यो त्यस्तै छनोट गर्न पाएपछि प्रेमिलाको कमाइ पनि आकासियो । चेलीहरू पनि दङ्ग, आगन्तुकहरू पनि सन्तुष्टस्कुटर छोडेर गाडी चढ्ने भइन् प्रेमिला । घरजग्गा ठाउँठाउँमा,  गाडी पनि फेरेरै चढ्ने भइन् ।
 पत्रकार, स्तम्भकारले जताततै छाप्न थाले प्रेमिलाको तस्बिरव्यक्तित्व, कृतित्वको चर्चा चलिरहृयो । पुस्तकहरू एकसाथ चारचार किसिमका सार्वजनिक हुँदै गए । अध्यक्ष, जिएमसँग नगरकोट, दार्जीलिङ घुम्न गएपछि नाम चलेका प्रतिष्ठान, प्रकाशनबाट पनि प्रेमिलाका कृतिहरू निस्किन थाले । सम्मान, अभिनन्दन गर्ने कर्मीहरू पालो कुर्न लागे । दुई, चार, पाँच, दस हजार बुझेर जो कोहीले तस्बिर छाप्ने, प्रशंसा लेख्ने र सम्मान अभिनन्दन गर्ने लामो परम्परा बस्यो । जताततै आफू फैलिएको निकै प्रसिद्ध भएको, अरू त्यस्ता कोही नभएको देखेर प्रेमिला भने भित्रभित्रै रणभुल्लमा परेकी थिइन् । पाँस-सात कक्षाभन्दा नपढेकी स्वअध्ययन पनि पटक्कै नगर्ने भएकीले अब केके हुने हो, कहिले त बेचैन, छट्पटी नै हुन्थ्यो, प्रेमिलालाई । एकाध पेग हृविस्की घुट्काएर नाच्ने, उन्मुक्त हुने पनि गर्थिन्, बेला-कुबेला । कुनै पनि महिला स्रष्टा, सीता, भृकुटी, नेत्री, अभिनेत्री, महारानी, वीरङ्गनाभन्दा प्रेमिला कता हो कता माथिकी नारी भनेर पुस्तिका, जीवनी पनि छापिए । नेपाली भाषाभाषी छरिएका ठाउँसम्म उनका पुस्तक, पर्चा, पोष्टर, तस्बिर क्यालेन्डर, जहाँ कहीँ पुग्न थाल्यो । प्रेमिला पुस्तकालय, स्कुल, कलेज, मार्ग, चौतारी बन्न थाले । सिनेमा त पहिल्यै बनिसकेको थियो, उनको । सामाजिक, सङ्घ, संस्था, परिषद् समाज पनि उत्तिकै खुल्दै गए । सहर, गाउँ, टोल, जिल्लाका कतिपय कार्यक्रम, समारोह, गोष्ठीको सभापति, प्रमुख अतिथि हुन पनि उत्तिकै समय दिन पर्यो, प्रेमिलाले । भित्रभित्रै फोनमा कतिको काम पनि गरिदिनुपर्ने उनले नै ।
प्रेमिलद्वार भीत्रको नगरमा मात्र होइन सिङ्गो समाजमा, देशमा नै नभएको विचित्रको 'नारी पात्र' कहलिइन्, प्रेमिला ।
-शान्तिनगर, काठमाडौँ-३


ठूला मान्छे

0

आज बिहानैदेखि अस्पतालको चहलपहलै अर्कै थियो । सबै जना व्यस्त थिए- तलमाथि गर्दै र भित्र-बाहिर गर्दैमा । म सुतेको कोठामा पनि डाक्टर र नर्सहरू साथै कहिलै नदेखिएका अनुहारहरू, अपरिचितहरू आइरहे-गइरहे ।
 त्यो दिन दूधको स्वाद पनि नौलो थियो । दूध पनि बाक्लो । तरैतरले ढाकेकोजस्तो । विष्कुट पनि आकारमा ठूल्ठूला र सङ्ख्यामा हिजो अस्तिको भन्दा दोब्बर थियो । दूध पिउन भ्याएको थिइनँ । बिस्कुट चपाएर निल्नै पाएको थिइनँ । तातो पानीले भरिएको बाल्टिन लिएर अगाडि उभिएकी नर्सले भनिन्- "बिरामी मान्छे फोहरी भएर बस्नु हुँदैन, बरोबर नुहाउनु पर्दछ ।"
 मलाई अचम्म लाग्यो । कानले पनि केके सुन्नुपर्दोरहेछ भनेजस्तो लाग्यो । सूर्य पूर्वबाट उदाएको हो कि पश्चिमबाट- निर्क्योल गर्न पनि गाह्रो भइरहेको थियो । त्यसैले कोठाको चारैतिर हेरेँ । सबै आ-आफ्ना ठाउँमा पहिलेजस्तै थिए । मैले आफ्नो बेड नियालेँ । बेड जहाँको त्यहीँ थियो । अगाडि हेरेँ । अगाडिको बेडमा त्यही बिरामी हिजोअस्तिजस्तै निस्तेज अनुहार लिएर अडेस लाएर बसिरहेको थियो । बिहानको न्यानो घाम पूर्वको झ्यालबाटै पसिरहेको थियो । मेरो भ्रम निवारण भयो- "सूर्य पश्चिमबाट होइन, पूर्वबाटै उदाएको थियो । दृष्टि दोष पटक्कै होइन ।"
 बिहानदेखि अस्पतालमा चहलपहल निकै बढिसकेको थियो । सुकिला लुगा लगाएकाहरू, चहकिला अनुहार बोकेकाहरू, फरासिला धेरै स्त्री-पुरुषहरू ओहोर-दोहार गरिरहे । सबै उत्सुक र चनाखा थिए ।
 मेरो मनमा अनेक कुरा खेल्न थाले- "यी ठूलामान्छेहरू सधैँ किन अस्पताल आउँदैनन् ? सधैँ नभए पनि बरोबर मात्र आउने जाने गरेको भए वा ठूलोमान्छे अस्पतालको दायाँबायाँ बसेर अस्पतालको क्रियाकलाप नियालिरहेको आभाष सबैका मन-मस्तिष्कमा पार्न सके मैले दूधको स्वाद, बिस्कूटको आकार-प्रकार र सङ्ख्यामा फरक पाउनुपर्ने थिएन । सबैले आ-आफ्ना दायित्वबोध गरे सूर्य कुन दिशाबाट उदायो भनेर भ्रममा पर्नुपर्ने थिएन ।"
 मेरो मनमा थरीथरीका कुरा खेल्दै थिए । त्यसैबेला ठूलोमान्छे गलाभरि माला लाएर मेरै कोठामा पसे ।
 -कमलविनायक, भक्तपुर-४


यस्तो पनि हुँदैछ

0

दिनभरिको थकाइले होला मस्त निद्रामा परेँछु । 'किरिरी किरिरी' फोनको घण्टी बज्दा पो झसङ्ग भएर एकैचोटि फोन उठाउन पुगेछु । मैले फोनको रिसिभर कानमा लगाएँ, यताबाट हेलो गर्न नपाउँदै उताबाट भयमिश्रति एउटा पुरुष आवाज आयो- 'म्याडम ! सरको भाइलाई फोन दिनु ।' मैले फोन गर्ने मानिसको आवाज चिन्न सकिनँ दिनेश बाबुलाई बोलाएर फोन दिएँ ।

 पक्कै केही अपि्रय घटना भइरहेछ जस्तो लागेर म दिनेश बाबुले कुरा गर्दै गरेको हेरिरहेँ । उहाँले फोनमा 'हेलो' भनेकोबाहेक अरू कुरा बोलेको सुनिनँ । उहाँको हात त लगलग काम्न थाल्यो भने आँखाबाट आँसु र्झन  थाल्यो । मलाई आश्चर्य लागेर 'बाबु कसको फोन ?' भनी सोधेँ । बाबुका ओठहरू बोलिरहेका छन् तर बाहिर आवाजले चाहिँ उहाँलाई साथ दिएको छैन । फोनको रिसिभर यत्तिकै छोडेर दिनेश बाबु हड्बडाउँदै मलाई आएर घम्लङ्ग अँगालो हालेर रुन थाल्नुभयो ।
 म पनि कुरै नबुझी आत्तिएर रुन थालेँ ।  'बाबु के भयो ? किन यसो गर्नुभएको ? कसको फोन किन गरेको रहेछ ?' दिनेश बाबु त झन् डाँको छोडेर रुन पो थाल्नु भयो । हामी देवर भाउजूको रुवाइ र कराइले घरका सबै जना उठेर बैठकमा जम्मा भइसक्नु भएको थियो । आमाबुबाले आश्चर्य र त्रासपूर्ण स्वरमा सोध्नु भयो 'कान्छा के भयो ?'
 बूढा बुबाआमा भर्खर मात्र ज्वाइँको मृत्यु भएकाले त्यस घटनाबाट बाहिर निस्कन सक्नु भएको थिएन । फेरि अर्को बीभत्स घटना सुनाउन कान्छो छोरालाई निकै गाह्रो परेको थियो तर पनि यथार्थ लुकाउन मिल्ने पनि त थिएन ।
 जेठो ज्वाइँ हृदयाघात भएर छोरी विधवा भएको पाँच दिन नपुग्दै बिहान मात्र भेटेको जेठो छोरो कान्छो ज्वाइँ एकैचोटि बस दुर्घटनामा परेर यस संसारबाट बिदा लिएको कुरा कसरी व्यक्त गर्ने, दिनेशलाई साह्रै गाह्रो पर्‍यो तर पनि घरपरिवारको आड, भरोसा अब उहाँ मात्र बाँकी रहेकोले आफूलाई सम्हाल्नु अति आवश्यक थियो । आफ्नो मनलाई दह्रो बनाएर फेरि फोनकै रिसिभर समाउन पुग्नुभयो ।
 कामेको हात, त्रासदीपूर्ण अनुहार बत्तीको उज्यालोले प्रस्टै देखाउँथ्यो । उहाँ भटाभट फोन नम्बरहरू थिच्न थाल्नु भयो । पहिला नजिकका छिमेकी दाइहरूलाई फोन गर्नुभयो अनि आफन्तलाई फोनमा मात्र 'दाइ छिटो आउनुहोस् न' भन्दै फोन थपक्क राख्दै अर्को नम्बर थिच्दै गरेर बूढा बाबुआमा अनि भाउजूले टुलुटुलु हेरी मात्र रहेका छन् ।
 रातको बाह्र बज्नै लागेको थियो, पृथ्वी मस्त निन्द्रामा निदाइरहेको थियो । मात्र कुकुर, झ्याउँकीरीको आवाज एकोहोरो सुनिइरहेको बेलामा वल्लो, पल्लो र तल्लो घरका छिमेकी र इष्टमित्र आत्तिदै एकैचोटि जस्तो हाम्रो घरभित्र प्रवेश गरे । 'दिनेश ! के भयो हँ ?" सबैको एउटै प्रश्न एकचोटि खस्न पुग्छ ।
 चुपचाप लागेर सन्नाटालाई चिर्दै दिनेश बाबु रुन थाल्नु हुन्छ । 'हामी बर्बाद भयौँ । हाम्रो सर्वस्व लुटियो ।' आएका पाहुनाहरू छक्क पर्दै उहाँलाई सम्झाउने पाराले मायालु हातले सुम्सुम्याउन थाल्नु भयो । रामहरिदाइले भन्नुभयो "के भएको हो कान्छा ?" प्रस्ट भन त बा ! तिमीले मुख नखोले के भयो भनेर हामीले कसरी थाहा पाउने ? ।"
 दिनेश बाबु रामहरिदाइको आड पाएर झन् रुन थाल्नुभयो र आफूलाई सम्हाल्दै भन्नुभयो 'ठूल्दाइ र कान्छो ज्वाइँले पनि अब हामीलाई छोडेर जानु भयो रे .......... दाइ !'
 त्यति कुरा सुनेपछि मेरा त आँखाले संसार नै घुमेजस्तो देख्यो अनि म डङ्रङ्ग ढलेँछु । भोलिपल्ट ब्यूझँदा त घरभरि मानिसको गल्याङ्ग मल्याङ्ग आवाज सुन्छु । के ? किन ? विस्तारै आँखा उठाएर हेरेको त बाहिर तुलसीको मोठमा पिताम्बरले ढाकेर सुताइरहेको मानिस अनि उतापट्ट िबेहोस भएर लडिरहेका सासूससुरा ।
 भगवान् ममाथि किन यति धेरै कठोर भएका होलान् । कुनै त्यस्तो अरूप्रति अनादर र अनास्था त कहिल्यै गरेको थाहा थिएन भन्दै म अलाप विलाप गर्न थाल्छु । छोराछोरी पढाइका लागि बाहिर गएकोले त्यहाँ हामी सासूससुरा र कान्छो देवर बस्थ्यौँ । उहाँचाहिँ कामको सिलसिलामा बाहिर बस्नुहुन्थ्यो ।
 धेरैबेर रोएपछि मैले आफ्नो मनलाई आफैंँ बुझाउन थालँे । के गर्नु ? दैवले हानेपछि केही लाग्दैन भन्थे । साँच्चै रहेछ । म त छोराछोरीको मुख हेरेर चित्त बुझाउँला । ती बूढा भएका सासूससुराले आफ्नो किरिया गर्ने छोरोको किरिया कसरी गरेर बस्ने ? मानिसलाई एउटा मात्र घटनाबाट त कति आहत हुन्छ । उहाँहरूको त पाँच छ दिनको बीचमा तीनवटा घटना घट्नु । दुई छोरी र एउटी बुहारी एकैचोटि विधवा भएको हेरेर बाँच्नु पर्दा उहाँहरूको मन कस्तो हुँदो होला भन्ने लागेर म त उहाँहरू बेहोस भएर सुताइरहेको ठाउँमा गएर पानी छम्काई उहाँहरूलाई होसमा ल्याउने प्रयत्न गर्न थालेँ ।
 मलाई हेरेर उपस्थित सबै आफन्तजन मुखामुख गरिरहेका थिए । मचाहिँ सासूससुरालाई निरन्तर पानी छम्किरहेकी थिएँ ।


पूरै आयु

0


सम्झनाको घर नेपालको वीरेन्द्रनगर, सुर्खेत हो । आधुनिक सञ्चारमाध्यमको सशक्त साधन कम्प्युटरमा सम्झनालाई च्याट गर्ने बानी बनिसकेको छ । कि-बोर्डमा टाइप गर्दै हाँस्ने, रमाइलो मान्ने अनि भावुक हुने दिनचर्याको एउटा भाग उसको भइसकेको छ । साइबरमा पैसा तिरेको उसलाई कति पनि मनखत लाग्दैन ।

 एकदिन च्याट गर्दागर्दै सम्झनाको भेट जेशिकासँग भयो । उनीहरू दुवैले आ-आफ्नो परिचय दिए । उनीहरूको गफगाफ गहिरो बन्दै गयो । एउटै उमेर, एउटै पढाइ, एउटै चाहना अनि एउटै लक्ष्य उनीहरूको आत्मा नजिकिँदै गयो । कन्दरामा हुर्किएकी नेपालकी छोरी सम्झनाले अमेरिकाको जल्दोबल्दो विकासमा आँखा लगाउनु र नेपालको प्राकृतिक तथा सांस्कृतिक हराभरामा जेशिकाको जिज्ञासा जाग्नु स्वाभाविक हुँदै गयो । एकदिन च्याट गर्दागर्दै जेशिकाले सोधी- "तिमीले 'ब्वाई फ्रेण्ड' बनायौ ?"
 "नेपालमा ब्वाई फ्रेण्ड बनाउनु राम्रो हुँदैन । मैले त मेरो बुबाआमाले खोजेको केटासँग मात्र विवाह गर्नुपर्छ, बनाएको छैन ।"
 जेशिकाले फेरि लेखी- "मैले त एउटालाई रोजिसकेकी छु, सायद उसले नाई भन्दैन होला । हाम्रो हल्का प्रेम बसिसकेको छ । .... के गर्नु यी केटाहरू .... अलि मिलेको केटी फेला पारे भने उतै लाग्छन्..... ।"
 सम्झना खिस्स हाँसी, टाइप गरी- "बाह्र कक्षामा पढ्दैमा केटाहरू छान्न थाल्यौँ ?"
 "अहिले केटाहरू समात्न सकिएन भने पछि झन् गाह्रो पर्छ । कहाँ ! कलेज पढ्न सुरु गरेपछि कस्तो हानथाप पर्छ ... ।"
 सम्झनाले फेरि मन्द मुस्कान दिँदै टाइप गर्न थाली- "मलाई त केटाहरूसँग बोल्न पनि लाज लाग्छ । कसरी होला यो लाज हटाउने ? लौन ! सिकाउ !"
 यस्तो कुरामा खुला हुनु पश्चिमी सभ्यतामा उत्ताउलो भइँदैन । जेशिकाले पनि आफ्नो अनुभव सुनाउन दकस मानिन र लामो टाइप गर्न लागि- "सुरुमा म पनि सर्मिदी थिएँ । एक दिन जिस्किँदै मैले लन्चको लागि प्रस्ताव राखेँ । उसले स्वीकार गर्‍यो । आजकल हामी सधैँ लन्च गर्न स्कुल बाहिर जान्छौँ । गाडी उसले हाँक्छ । कहिलेकाहीँ म पनि उसको गाडी चलाउँछु । अब अर्को महिना मलाई पनि बुबाले गाडी किनिदिनुहुन्छ । लाइसेन्स लिइसकेको छु ।........त्यसपछि कहिले उसको गाडी, कहिले मेरो... कति मज्जा !"
 सम्झनाले लामो सास लिई र थुक घुटुक्क निली । अनि ओठ भिजाई । उसको मन लोभियो । उसलाई असहृय भयो । त्यहीबेला वीरेन्द्रनगरमा बिजुलीबत्ती गयो । सबै कम्प्युटरहरू बन्द भए । सम्झना घरतिर गई तर बाटोभरि उसको मन अटाई नअटाई हुँडलिन थाल्यो । उसको सोचाइ जेशिकाको ब्वाई फ्रेण्डभन्दा पनि गाडीतिर बहकियो । ..... हाइस्कुल पढ्ने विद्यार्थीको आफ्नै गाडी ! कति ठूलो तकदिर हगि । सोच्न थाली । धनी देशका धनी विद्यार्थी । सोच्दासोच्र्दै घर आइपुग्यो । आँगनको डिलमा नै आमासँग सम्झनाको भेट भयो । जब मान्छेले अर्काको देख्छ तब उसले आफूलाई पनि त्यसको आवश्यक भएको महसुस गर्दछ, यो मानव स्वभाव सम्झनामा पनि देखापर्‍यो तर त्यो सम्भव नभएपछि भाग्य र जन्मजातलाई धिक्कार्न बाध्य भई र मुख रसिलो बनाउँदै आमातिर हेरेर बोली- "आमा ! के गर्नु ! अमेरिकामा त आई.ए. पढ्ने विद्यार्थीले पनि गाडी चढेर कलेज जाँदा रहेछन् । उनीहरूको आफ्नै गाडी हुँदोरहेछ ।"
 आफ्नी छोरीले बेलाबेलामा जेशिकाको गफ निकालेर आफ्नो भाग्य ओझेलमा परेको भावुकताको आधारमा धैर्य गराउँदै आमा बोलिन्- "उसका बाबु धनी छन् होलान् । एउटा गाडी किनिदिन कुन ठूलो कुरो भयो र ?" किनिदिए छोरीलाई ।"
 सम्झनाले कोप्रा आँखा बनाउँदै आमातिर हेरेर आफ्नो असन्तोष प्रकट गरी ।
 "केको धनी हुनु नि ! सिनेमा हलको प्रोजेक्टर चलाउने अपरेटर अरे ! उसका बाबु'' आमाले केही जवाफ फर्काइनन् । नरम दृष्टिले छोरीतिर हेरिन् र घरभित्र पसिन् । सम्झना पनि आफ्नो कोठातिर लागी ।
 तर त्यो दिनदखि सम्झनाले जेशिकासँग च्याट गर्न सकिन । जतिसुकै कोसिस गर्दा पनि जेशिका कहिल्यै कम्प्युटरमा आइन । सम्झनाको मनमा कुराहरू खेल्न थाले । सायद गृष्मकालीन छुट्टी मनाउन बाहिर जान्छु भन्थी, गइहोली तर धेरै भयो । सायद स्कुलको वाषिर्क परीक्षा सुरु भयो होला ।... धेरै तर्कनाहरू गर्दै गई तर भेट हुँदै भएन ।
 एकदिन एक्कासि एउटा अनौठो इमेल सम्झनालाई आयो । इमेल पढिसकेपछि उसका आँखाहरू तिरमिराउन थाले । टाउको घप्लक्क कि-बोर्डमा ठोकी । परेलाबाट बरर्र आँसु र्झन थाले । स्वर सुक्यो । अनि साइबरबाट हानिँदै घरतिर गई ।
 पिँढीमा आमाछोरीको भेट भयो । छोरीको निन्याउरो अनुहार र राता आँखा देख्नासाथ आमाको अनुहारमा गहिरो बादल मडारिन थाल्यो र नजिकै गएर सोधिन्- "सम्झना ! किन आज न्याउरो देख्छु नि ! के भयो ? किन रोएकी ?"
 आमाको प्रश्न सुन्नासाथ सम्झनालाई खपिसक्नु भएन । आमाको छातीमा झ्याप्प अँगालो हाल्दै रुन थाली ।
 "आमा ! चाहिँदैन मलाई गाडी ... मलाई गरिब मुलुकमा जन्मेकोमा कुनै पछुतो छैन । म पूरै आयु बाँच्न चाहन्छु ।"
 "किन ? के भयो ?" आमाले छक्क मान्दै फेरि सोधिन् ।
 "आमा ! जेशिका गाडी दुर्घटनामा परेर मरिछ । भर्खर नयाँ गाडी किनेकी थिई । ठोकिएछ, कठैबरा ! पशु डाक्टर बन्छु, भन्थी । आज उसको बाबुको इमेल आएको थियो । दुई महिना भइसकेछ ।
 आमाको मन पनि खल्लो भयो । उनलाई नरमाइलो लाग्यो । न देख्नु न चिन्नु तर कहिलेकाहीँ आफ्नी छोरीले कुरा गरेको र फोटो देखाएको आधारमा नै उनले जेशिकाको हँसिलो अनुहार झलझली देख्न थालिन् र छोरीको नजिकै गएर सम्झाउन थालिन् ।
 "छोरी ! भौतिक विकासले मानिसलाई जति सुविधाभोगी बनाउँछ त्यतिकै अल्पायुमा खोसेर पनि लैजान्छ । त्यस्तै भयो जेशिकालाई पनि ! .... अब नरो ! रोएर फाइदा छैन ।.... उसले पूरै आयु बाँच्न पाइन !"


विद्रोह

0

निस्पट्ट अन्धकार छ । पूणिर्माको रात हो तर मडारिँदो बादलको अगाडि चन्द्रमाको केही चलेन । ल्याम्पपोष्ट पनि मधुरा छन् । बाटाहरू धुमिल भएका छन् ।
बिस्मात् ! आधा रातलाई पनि आँधिबेहरीले भाँजो हालेको छ । अन्तद्वन्द्व चलेको हिजो साँझदेखि नै । कसैगरी छोड्नु छ उसले ओछ्यान । जीवनसाथी सपना देखिरहेछ सधैँझै ।
लोग्नेको भारी हात पन्छाउँदै उठ्छे ।
निर्दयी प्रकृति ! "कस्तो हुरी चलेको ! खालबाट रित्तिएर निस्किएको जुवाडेको पर्याय हुनुपर्छ "- मनमनै भन्छे । त्यसपछि सरलाले झ्यालबाहिर चिहाई । मुसलधारे पानी पर्छजस्तो छ आकाश हेर्दा । खडेरी परेर केहीमा प्राण छैन । जीवन चाहिएको छ सबलाई ।

घरको कुकुर पनि अचम्मको निद्रा निदाएछ । पत्तै पाएन । सधैँ पाइला चलाउन हँुदैनथ्यो धुरुक्क पार्थ्यो पछ्याएर ।
"कस्तो बेइमानको हावा ! बारुदी पर्खाल भत्काएर आगो सल्काउन हान्निएको हुँदो हो ।" फलामे गेट खोल्न हम्मेहम्मे पर्छ । काँचका चुरा पहिरिएका हातहरू सायद शक्तिहीन भए अब ।
क्षणक्षणमा यस घरमा आफ्नो औचित्य छैन भन्ने नलागेको होइन । बाध्य छ । मूलगेट नै नखुलेपछि के गरोस् ? ऊ यहाँ छे तर अरूका लागि । उतार-चढाव धेरै भए । बेला-बेलामा खण्डहर जीवनको अनुभूति नभएको पनि होइन । परिवर्तनको पर्खाइ थियो उसलाई तर परिवर्तन भएन केही । आत्मासम्मानलाई मण्डीवाला भाउ दियो त्यस लोग्नेमान्छेले । आफ्नो भने हीरामोतीको भाउ तोक्यो जुन कहिल्यै घटेन । दिनानुदिन बढिरहृयो ।
दैनिकी छ उसको- चिया उमाल्नु । मिनेटको फरक नपारी डाइनिङ टेबल व्यञ्जनाले भर्नु । पाइन्टको धार लाग्ने खुकुरी बराबर पार्नु । दाह्री काट्ने रेजरदेखि मोजासम्म हत्केलामा थमाइदिनु । उसका आफन्त-इष्टमित्रसँगको सम्बन्ध दुरुस्त राख्नु । साथसाथै जागिरे दैनिकीलाई पूरा गर्नु तर पनि त्यो लोग्नेमान्छेले असन्तुष्टि दर्शाउन आजसम्म छोडेको छैन । मानौँ उसले जिन्दगी यसरी नै टुङ्ग्याउने सम्झौतापत्रमा हस्ताक्षर गरेकी छे ।
आँधी रोकिने छाँट छैन । बढ्दो छ । घण्टाघरले मध्यरातको घण्टी बजाइसक्यो । हतारिन्छे ऊ । उता आकाशमा गड्याङ्गगुडुङ्ग सुरु भो । बिजुली चम्कियो । मूलगेटको ढोका खोल्न सक्ने अवस्था झट्टै छैन ।
"हरे ! यो घरको अधिनायक ब्यूँझियो भने ......?" अदृश्य अल्पबिराम खोज्दैछे ऊ । त्यसैले भयभित हुनु परिरहेछ । डरैडरमा बाँच्न बाध्य भएको अनुभूति भएकै हो सधैँ पनि । एक्ली छ र एक्लो छ परिवेश । साथीसङ्गी कहाँ गए, के थाहा उसलाई । मन साट्न पाउँदिन । भेटिएका केही पनि लोग्नेको विश्लेषणमा अपाच्य भए । छोडिदिई उसले सब ।
तर एकाएक मनले उसलाई घच्घच्यायो । धुमिल दृश्यले केही भनेर गयो । मस्तिष्कका रेसारेसामा त्यही आवाजको अनुगुञ्जन छ । अन्त्य खोज्नु छ त्यसको ।
पानी दर्किन सुरु भो मुसलधारे । क्षणमै भिजेर निथ्रुक्क भइसकी ऊ । पछाडिबाट ठूलै आवाज आयो । पक्कै बडेमानको वस्तु फुटेको हुनुपर्छ । यता बेस्सरी अठ्याएर राखेजस्तो भइराखेको छ गेटको फलामे साङ्गलो । जति हतारिए पनि, जति बल गरे पनि खोलिँदैन । कसरी निस्कनु उसले ?
"कोठाको झ्याल फुटेर बर्बाद छ भित्र, यहाँ भने मूलगेटमा केको धन्दा हो ?" लोग्ने रिसाउँदै निस्कियो ।
"सत्यानाश होस् ।" सरला आत्तिन्छे ।
"निद्रा सब चौपट भो । ख्याल गर्नुपर्छ नि कहाँ के भइराखेको छ ।" ऊ बर्बराउँछ ।
"हैन कत्तिबेर लगाई राखेको ?" भन्ने बित्तिकै हुनुपर्ने आदत लागेको छ त्यसलाई ।
तर ऊ पुनः पछाडि फर्किन चाहन्न । दृढता हो । निस्किसकेकी छ ऊ ।
निद्रा र ब्यूँझाइको यार्सागुम्बा भएर त्यो नजिकै आइपुगेको छ । सरलालाई थाहा छ ।
"सिसा छरिएर ओछ्यानभरि छ । फटाफट हटाइदेउ ।" आदेश दिन्छ र भित्रिन्छ कोठामा ।
आदेश मान्न मन छैन । घृणा लाग्छ । जीवनसाथी हो तर मात्र आदेश दिन्छ । त्यसैले त उसलाई न जीवन छ, न त साथी नै । सुझाव दिँदैन, धम्की दिन्छ । गल्ती त त्यो पण्डितको हो । बाबुआमालाई घण्टौँ पानी खन्याउन लगायो मन्त्र पढीपढी । दान गरेको भन्ने स्पष्ट पारिदियो । किन नदियोस् त आदेश ! दानमा पाएको वस्तु मेहनतले कमाएको ऐश्वर्यजस्तो कहाँ हुन्छ ?
कसलाई थाहा ? सम्झौता थियो त्यो उसको । आमाबाबुको संस्कारसँग मानसिकतासँग अनि समाजको ढोँगी संयन्त्रसँग । के खराबी थियो उसको रोजाइमा ? केही थिएन । मानेनन् स्वीकार्न कसैले । झोली भिरेर आयो अरे । झोले देशका मान्छेले झोला नभिरेर के भिर्ने त ? फर्काइदिए । त्यो फर्कियो लाचार बनेर । उसले केवल हेरिरही । पीडा छ आजसम्म । आफूले नरोजेको मान्छे । कस्तो-कस्तो हीनताबोध हुँदाहँुदै जिम्मा लगाएर पठाए । एकपटक सोद्धासम्म सोधेनन् । म्यारिनियोटलाई जस्तो ओल्टाई-पल्टाई सिँगारे अनि थुम्थुम्याउँदै पठाए । बैरी परेछ यो विद्वान् ! परिस्थिति स्वीकार्न कहिल्यै सिकाएन । स्नेह, कोमलता र सहनशीलता केही सिकाएन । कसरी सक्नु बिर्सन ? त्यो त शान्त थियो बढेमानको बुद्धजस्तो ।
"आधा रातसम्म बाहिरै बस्नुपर्ने कारण ?" पुनः बाहिरिन्छ र जवाफ तेस्र्याउँछ ।
जिन्दगीसँग हरेक प्रश्नको जवाफ हुँदैन । कैयौँ प्रश्नहरू नाजवाफ हुन्छन् । कैयौँ प्रश्नका जवाफ भावनामा खोज्नुपर्ने हुन्छ तर त्यो भाव जान्दैन या जानाजान हरेक प्रश्नको मौखिक जवाफ चाहन्छ ? सरलालाई थाहा छैन ।
"कारण, म गणतन्त्रको खुसियाली मनाउने तर्खरमा छु ।" बेतुकको जवाफ दिन्छे । हो नि त ! मुलुकमा गणतन्त्र भर्खरै आएको छ । खुसियाली ढिलोचाँडो सबैले मनाउन पाउँछन् । यसमा अस्वाभाविक के छ त ? ऊ पनि आफ्नै पाराले गणतन्त्रको खुसियाली मनाउँदै छ ।
त्यो हाँस्छ बेसुरले लामो गरेर । उद्दण्ड हाँसो, उपहासको हाँसो ।
"गणतन्त्र पुरानो भइसक्यो । यो कस्तो बासी खुसियाली ? मेरी श्रीमती .....गणतन्त्र......खुसियाली .. ! हा..हा... त्यो हाँसिरहन्छ ।
"राष्ट्रपति ! प्रथम महिला राष्ट्रपति ! सपना बन्नु रातभर । छिटो सुत्ने अनि भावी राष्ट्रपतिको सपना देख्ने ।" व्यङ्ग्य गर्छ ।
"ढोँगी घटिया हाँसो हाँस्छ ममाथि । दाम्लोले बाँधेको पशु सम्झदो हो ।" क्रुद्ध हुन्छे ऊ ।
'यो राष्ट्रपतिको अर्थ परिवर्तन हो । अझ यो त पहिलो र ऐतिहासिक राष्ट्रपति ! यसले जागरण र स्वतन्त्रतालाई जनताबीच उजागर गरेको छ । बुझ्न सक्नुपर्छ परिवर्तन । मुलुकले अधिनायकवादबाट छुटकारा पायो । घर-घरभित्रको अधिनायकवाद किन ? समानतामा झर्नुपर्छ यो अधिनायकत्वले पनि ।' मनोवाद गर्छे सरला ।
पानी रोकिएको छैन । बादल मडारिँदो छ । निष्पट्ट अँध्यारो छ । बिजुली चम्कन्छ उसै गरी घरिघरि ।
"साँच्चै प्रथम महिला राष्ट्रपति भए तिमी भने के गर्छौ ?" सरला त्यसलाई प्रश्न गर्छे ।
ठिङ्ग उभिएको छ सामुन्ने । अन्धकारमा हेर्दा बुख्याँचाजस्तै देखिएको छ त्यो । डरलाग्दो ! भागिहालौँजस्तो लाग्छ सरलालाई ।
"यो मध्यरातमा बेतुकका तर्क गर्ने फुर्सद छैन मेरो । ऊ अनि प्रथम महिला राष्ट्रपति ......." फेरि बेजोडको हाँसो हाँस्छ त्यो ।
"कुनै पनि परिवर्तनको शङ्खनाद यस्तै मध्यरातमा, अन्धकारमा, कुनाकाप्चाबाट, अप्ठ्याराहरूबाट नै हुने गर्छ ।" ऊ तर्क अघि सार्छे ।
"राष्ट्रपति हुनेले नेतृत्व गर्न सक्नुपर्छ । त्याग गर्नु पर्यो, बाधा-बन्धन तोड्नु पर्यो, जेलनेल थेग्न सक्नु पर्यो । अझ मुख्य त असमानताको पर्खाल भत्काएर सम्याउने हिम्मत गर्नु पर्यो ।" मजाकमा व्याख्या गर्छ त्यसले ।
"ठीक भन्यौ । मध्यरातमै भए पनि तिमीले पहिलोपटक केही त ठीक भन्यौ । वास्तवमै, त्याग गर्नुपर्छ । असमानता भत्काएर सम्याउन सक्नुपर्छ । ठीक भन्यौ ।" आवेगमा बोल्छे ऊ ।
भिक्षुणी बन्न निस्किएकी । अचानक आदेश, प्रश्न, राष्ट्रपति, जवाफ, आँधीबेहरीको जमघट । अपत्यारिलो सङ्गम । क्षीण भएको विश्वास, आँट, आत्मविश्वासको प्रत्यारोपण । घात गरेर सम्भिmरहेकी थिई त्यसैलाई । त्यो बढेमानको बुद्धलाई । घिनलाग्दै थियो आफ्नै आकृति एकैछिन अघिसम्म । मिराकल भइरहेछ खुलेआम आँखा अगाडि । हृयारीपोर्टरको जादुको छडी पर्दामा चाख मानीमानी हेरेको हिजै त हो । यहाँ पनि जादु भइरहेछ । कहीँ यतै कतै हृयारीपोर्टर छडी घुमाउँदैछ ।
सरला आँखा फर्काउँछे । त्यो ठिङ्ग खडा छ । दरबारको ढोकाजस्तो ।
"राष्ट्रपति हुने पहिलो कदम म यहीँबाट सुरु गर्दैछु । तिम्रो सामुन्नेबाट । यही मध्यरातमा यो मूलगेट खोलेर म निस्कँदैछु । आन्दोलन गर्नुछ । हर दैलोबाट एकएक कार्यकर्ता निकाल्नु छ । धुरीहरूमा आगो बालेर सडक तताउनु छ । विद्रोह मध्यरातमै हुन्छ । हर गल्लीगल्लीहरूमा विद्रोह भइरहेको हुनुपर्छ । पक्कै पनि ।" ऊ केही बोलेर मूलगेटतिर हानिन्छे ।
त्यसलेे हस्पिटलको इमर्जेन्सीलाई फोन घुमाउँछ- 'मानसिक समस्या, आउट अफ कन्ट्रोल......।'
सुनसान छन् गल्लीहरू । विद्रोह टरिसक्यो वा विद्रोहलाई दबाइयो ? या कफ्र्यु जारी गरियो ? यसै भन्न सक्ने स्थिति छैन । एकोहोरो भुस्याहा कुकुरहरू भुकिराखेका छन् । चिसो पस्छ मनमा ।
"ए सेठकी छोरी ! तेरो बाउ कति पानीमाथि छ, मलाई थाहा छ । तेरो नपुङ्सक विद्या भोलि बिहान तेरै विद्यार्थीलाई सुनाउनु ।" लरबराएको आवाज छ त्यसको । पिएको हँुदो हो । जवाफमा सँुक्कसँुक्क मात्र सुनिन्छ ।
अर्को एक विद्रोहको विजारोपण हो यो । एक, दुई, तीन दिनमै नभए पनि तीन सय पैँसठी दिनभित्रमा कसै गरी छेडिने विद्रोह हो यो । किनकि लोग्नेमान्छेमा एक, दुईले मात्र आत्मा आलोचना गर्न सिकेको हुन्छ ।
ऊ पाइला सारिरहेकी छ । बुद्धलाई भेट्नु छ उसले । उसको बुद्ध । कतै एकान्तमा आलङ्कारिक भइरहेको हुँदो हो । सधैँ सभ्य र आलङ्कारिक कुरा गर्थ्यो ।
छेउबाट किचौलाजस्तो गरी गाडी हुँइकिन्छ र सडक किनारामा रोकिन्छ । नारी आकृति उत्रिन्छे । पुरुषजस्तो लाग्ने आकृति गाडीभित्रैबाट वकालत गरिरहेको देखिन्छ ।
"पाएको वस्तु प्रयोग गरेको हो मैले । घरमा स्वास्नी छ । छोराछोरी छन् । जति भेटिए त्यत्तिलाई भित्र्याउन सक्ने न घर छ मेरो, न त देशको कानुन । एक वर्षको सम्बन्ध कम रोमाञ्चक रहेन । धन्यवाद ! बाटोमा अर्को राजकुमार पक्कै भेटिनेछ ।" एकै सासमा वाक्यांश बोल्छ र फरार हुन्छ दोषी ।
यौवना एकोहोरिन्छे सडक मध्यको सालिक भएर ।
"मूर्ख ! एकैचोटि दुई-दुई विद्रोहको बिज रोपेर गयो ।" सरलालाई विद्रोहै-विद्रोहको झुण्ड चाहिएको छ । यो सब सकारात्मक छ । नेतृत्व चाहिएको छ यी सबलाई । अदृश्य ढाडस दिने शक्ति चाहिएको छ ।
यी गल्लीहरू सधैँ उसले बिहानीमा मात्रै हिँडेकी । थाहा थिएन रातमा कस्तो बाँच्छ भनेर । निरस-निरस लाग्थे बिहानहरू । थकानले सुस्ताएजस्ता मलीनमलीन नारी अनुहारहरू । फुङ्ग उडेका पहिरहन । हातमा पूजाका थाली लिएर पनि अशान्त बनेजस्ता । थाहा थिएन यी चिटिक्क परेका सुन्दर घरहरूभित्र केले सताउँछ भनेर । यहाँ धोबी, दर्जी, पसले, कामदारभन्दा पनि प्रोफेसर, साहित्यकार, पत्रकार, डाक्टर, इन्जिनियर, वकिल, सिपाही, नेता, अभिनेता, समाजसेवीको बसोबास छ । यस्ता गल्लीका नारी अनुहारहरूमा चमक नभेटिनु ! उदेक मान्थी ऊ ।
चौबाटो आयो । सही दिशा छान्नु छ । दिशाबोध गराउने कम्पास छैन उसँग । दाँयापट्ट िमोडिन्छे । एक आकृति जोडले ठोक्किन्छ । निथ्रुक्क भिजेकी छ । सास धावकको जस्तो बेतोडले बढेको छ । मधूरो उज्यालोमा रक्ताम्य अनुहार र लतपतिएको सिउँदो देखिन्छ । त्यो ज्यान जोगाउन भागेकी जस्ती छे ।
सरला त्यसको हात अँठ्याएर तान्छे ।
"बाटो यता छ । हामीले सिधा यही बाटो पछ्याउनु पर्छ । छाती निर्जीव बनाएर ।" सरला हिम्मत जुटाइदिन्छे ।
"ज्यँूदै जलाउन खोज्यो त्यो पापीले । झ्यालको सिसा फुटालेर त्यसकै कोठाछेउबाट भागेँ । स्वास्नीले आत्माहत्या गर्न लागी भनेर पुलिसलाई खबर गर्दै थियो त्यो । अब ज्यँूदै त्यसलाई जलाउने पालो मेरो । यो रात कटोस् ।" त्यो आगो जसरी दन्किन्छ बदलाभावले ।
सरला अगाडि बढिरही । प्रत्येक मोड, घुम्ती, दोबाटो अनि चौबाटाहरूमा एकपछि अर्को गर्दै विद्रोहहरू ठोकिन आई पुग्छन् । विद्रोहको लामो ताँती भइसक्यो । उसले सम्पूर्ण छरिएका विद्रोहहरूको नेतृत्व गर्नुछ । एकमुष्ट पारेर ठोसरूपमा रूपान्तरण गर्नुछ । हैकमवादलाई परास्त गरेर साझा समझदारीमा आत्मसम्मानको हक सुनिश्चित गर्नुपर्नेछ । धेरै छ गर्न ।
"त्यो बुद्धले त यतै हुन्छु भनेको थियो । यही गल्लीको उचाइमा । उचाइबाट गरेको शङ्खनादले पूरै धरातल गुञ्जिन्छ भनेर उसले यो उचाइ देखाइदिएको ।" सरलाको बुद्ध साक्षात् छैन त्यहाँ ।
अलमल्ल पर्छे । बुद्धले धोका दिन सक्दैन । बुद्ध भनेको धोका होइन विश्वास हो । शिवजीको जस्तो छल गर्दैन बुद्धले । दृढ छ ऊ । बुद्ध भेटिन्छ । आँखा मिच्छे र बिस्तारै नियाल्छे । उचाइको मध्यबिन्दुमा त्यो बुद्ध ध्यानमग्न छ । उही शान्त र शालीन । धैर्यको समुद्रभित्र उसरी नै पौडिरहेको । थोरै फरक भएछ । निधारमा थकानका धर्साहरू बसेछन् । हर्षविभोर ऊ पछाडि फर्किन्छे, सयौँ नारी विद्रोहको प्रतिनिधित्व छ ।
"मेरो बुद्ध भेटियो । बाँकी रहृयो महिला राष्ट्रपतिको कुरा । म राष्ट्रपति हुन विद्रोह गरेर निस्किएकी हुँ । हामी सबै अधिनायकवादका विद्रोही हाँै । उद्देश्य एउटै छ । हातेमालो गरौँ, संरचना बदलौँ ।" सरला विद्रोहको नेतृत्व गर्छे । प्रत्येक विद्रोही आवाज थप्छन्- 'विद्रोहलाई अन्तिम बिन्दुमा पुर्याउन साथ छ ।' आकाश गुञ्जिन्छ स्वरहरूले । रोलमोडल बुद्धको ध्यान भङ्ग हुन्छ । परपर एम्बुलेन्स र पुलिस भ्यानहरूका साइरनको कोकोहोलो सुनिन्छ ।


दुई किनार

0

उँधोमुन्टो लाएर भौँतारिरहेको पात्र १ लाई देखेर पात्र २ मुस्कुरायो । त्यो व्यङ्ग्य वा स्वागत के हो ? अन्योलमा पर्यो पात्र १ ।
शङ्का प्रथम- तिम्री स्वास्नी पोइला गई ?
शङ्का द्वितीय- तिम्रो  सम्पत्ति चोरियो ?
शङ्का तृतीय- तिम्रा बाबुआमा कोही मरे ?

शङ्का चतुर्थ- तिम्रो छोरालाई कसैले अपहरण गर्यो ? किनकि यो बालक अपहरण हुने युग हो । प्रश्नको औचित्य पुष्टि गर्ने प्रयत्न गरियो ।
 सुब्बा कृष्णलाल अधिकारी, कृष्णसेन इच्छुकहरू घुइघुइती घुम्न थाले पात्रको खोपडीभित्र  ।
पात्र  २ को टाउकोभित्र संस्मरणका हूलहरूले जुलुस गर्न थाले ।
स्मरण १- सुन्तलीको भट्टी सम्झियो ।
स्मरण २ -वेश्यासँगको सहवास सम्झियो ।
स्मरण ३-भ्रष्टाचार गरी कुम्ल्याएको सम्पत्ति सम्झियो ।
संस्मरण ४- बीच चोकमा ठडिएको आफ्नो भव्य महल सम्झियो ।
पात्र १ र पात्र २ एक-आपसमा छुट्टएिर आ-आफ्नो गन्तव्यतिर लम्किए । यात्राभर पात्र १ ले सम्झियो -
-जनआन्दोलन
-जनयुद्ध
-सहिद
-कर्फ्यु
-कारावास
-घाइते योद्धा
-घेराबन्दी
-आक्रमण-प्रत्याक्रमण
पात्र १ को यात्रा चोकमा पुगेर टुङ्गयिो जहाँ सहिदको सालिक ठडिएको थियो । पात्रले चोकको सालिक छेउ उभिएर चारैतिर आँखा घुमायो ।
 समयको पासा पल्टिएको थियो-
 चोक अगाडि उभिएको सुन्तलीको भट्टी अगाडि पात्र २ नशामा झुलेर तथानाम कराउँदै थियो ।
 ती शब्दहरूमा पात्र १ ले पात्र २ को चित्कार सुन्यो, अरण्य रोदन सुन्यो, अपराधबोधको मर्म सुन्यो ।
 छेउको सहिदको सालिक पात्र २ तिर हेर्दै हाँस्दै थियो, उपहासको हाँसो ।
 पात्र १ सहिदको सलाम गरेर फर्कियो पात्र २ को छेवै भएर ।


लघु कथा – “पातलीको रहर” – बिनोद खड्का, दोहा, कतार

0

अप्रील २०, २००९

पातलीले आफ्नो खसमसंग जसै फोनमा कुरो के टुंग्याएर गाँउ फर्केर्की थिई गाँउमा त  हल्ला यसरी फैलियो जसरी तालमा ढुंगा हान्दा तरंगहरु चारैतिर फैलिन्छन। लेकदेखि बेसीसम्म, गाँउदेखि वनसम्म, चौतारीदेखि पधेरोसम्म एउटै कुरो। कुरो के त भन्दा पातलीको पोई काजिमान अरबमा अध्यक्ष भयो रे। गाँउमा काजिमानको चर्चासंगै प्रसंशा चल्न थाल्यो। बुढाहरुले भने यो गाँउमा दूईटा केटाहरुले गजबको प्रगती गरे। एक थियो खत्रीकान्छाको छोरो हर्क बहादुर जो गाँउमा भैसी चोरीको आरोप लागेपनि शहरमा गएपछि सुधि्रएपछि मन्त्रि भएको थियो। मन्त्रि भएपछि भलै गाँउमा नफर्केपनि र गाँउको हालत उस्तै भएता पनि कम्तिमा यो गाँउका मान्छेहरुले हाम्रो गाँउको मान्छे मन्त्रि त छ भन्न पाएका छन भन्ने सवालमा तर्क वितर्क गर्दै नयाँ केटाहरुसंगै बुढाहरु चौतारीमा फुर्सद काट्थे। अब काजिमानको प्रगती चौतारीमा चर्चाको  थप सवाल भएको थियो।  

यता पातली भने फुरुंग थिई। नहोस पनि कसरी, उसका बाउले आफ्नो वडाको सदस्य चुनाव लड्दा जति पटक पनि लडेका लडै भएका थिए, कहिल्यै जीत्न सकेका थिएनन। उनै बाउलाई तिम्रा ज्वाई विदेशमा अध्यक्ष भए भन्दा कति खुसी होलान, उसले मनमनै गमी। पोईले फोनमा गरेका अरु कुराहरु सम्झदै जाँदा उ अझै रोमान्चित हुन्थी। उसको पोईले भन्थयो उ असाध्यै व्यस्त छ रे। शुक्रवारको एकदिन छुटृी पनि यता बैठक उता बैठक भनेर फुर्सदै पाईदैन। कामैकामको चापाचाप छ। उ मुस्कुराई। ठूलेकान्छोले जावो वडाको सदस्य हुँदा त पँधेरो बनाउन भनेर ल्याएको पैसा स्वाटठै हजम गर्यो भन्थे गाउँलेहरु, हाम्रा उनी त अध्यक्ष भएका छन त्यसमाथि पनि घर बनाउने काममा गाको भन्थे पैसा त मज्जैसंग लेराउने भए। पातलीको एउटै रहर फेरी उसले सम्झी बयर डाँडाको तल्लो भनज्यांगमा भात होटेल लगाउने। उ फेरी एक्लै मुस्कुराई। हुन पनि त्यो भनज्यांग माथीदेखि तलसम्मकाहरुका लागी असाध्यैको चल्तीमा छ। यसै आधारमा भात होटेलले राम्रो व्यापार गर्ने पातलीको दृढ अनुमान थियो।

गाँउका आंसिक बेरोजगार ठीटाहरु साँझसम्म पनि भनज्यांगको टेलिफोन पसलमा काजिमानसंग विदेस जाने रहर पोखिरहेका देखिन्थे। त्यो दिन एउटै कुरा परपरसम्म पनि सुनिईरहेको थियो।




 

All-In-One Copyright © 2010 Premium Wordpress Themes | Website Templates | Blog Templates Designed by Lasantha