Showing posts with label gajal. Show all posts
Showing posts with label gajal. Show all posts

नयाँ

0


काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँहाम्रो नेपाल पुरानै छ, तिम्रो जीवनशैली नयाँ

सबै ठूला पदहरुमा आफ्नै चम्चाहरु भर्यौ
उपहार भन्दै घुस, लिई तिमी दङ्ग पर्यौ
हाम्रो आङ नङ्ग्याएर, तिमी लाउँछौ सुट नयाँ
काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ

धिक्कार छ हामीलाई तिम्रो विश्वास गर्यौं किन
तिम्रा मिठा कुराहरुको जालमा हामी पर्यौं किन
हामीलाई नै लत्याएर, तिमी चाल खेल्छौ नयाँ
काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ

हामी सबै पुरानै छौं, हाम्रा नेता आए नयाँ
हाम्रो नेपाल पुरानै छ, उनको जीवनशैली नयाँ
उनको जीवनशैली नयाँ ।।।


तिमीलाई के हुन्छ ?

0


कागले कान लग्यो भन्दा कागका पछि कुद्छौ
मिल्न जान्या छैनौ कहिल्यै परस्पर जुद्छौ
देशको अशान्तिले तिम्रो मन कहिले छुन्छ ?
म जहाँसुकै जन्मेपनि तिमीलाई के हुन्छ ?

ह्रितिक रोशन काण्ड भन्दै नेपालीलाई मार्छौ
इराकको विरोध भन्दै आफ्नै देश बाल्छौ
आफ्नाहरुको दु:खमा तिम्रो मन कहिले रुन्छ ?
म जहाँसुकै जन्मेपनि तिमीलाई के हुन्छ ?


नेपाल एकदिन फर्कन्छु

0

बिदेशिनु कतै आकांक्षा त कतै बाध्यतामा समेटीने गर्छ। बिदेशिने पनि कता? कती बिदेशिनेहरु त आफन्त र आफ्नो देशको लागी सधैको लागी पराय बन्न पुग्छन। ठाउं,ब्यक्ती,समस्या,अबस्था आदी आदी कारण धेरै हुनसक्छन, बिदेशिनुको पिडा भने एउटै हुन्छ बिर्खेमाइलाको जस्तै।

बिदेशिनुको यथार्थ, संघर्षको उतार-चढाव र सल्बलाउँदा मनका तर्कनाहरुले कहिलेकाहिँ तितो यथार्थ पोख्न बाध्य बनाइदिँदो रहेछ। कुरा २००६ तिरको हो, अमेरिका बसाईँका केहि वर्ष बित्दै जाँदा एकजना भारतियले लेखेको एक लेखमा मेरो आँखा परेको थियो। त्यस लेखमा लेखकले आफूले अमेरिकामा बिताएका चार दशक, र ती चार दशक उनले पल् पल् घर फर्कने प्रयत्नमा बिताएको कुरा उल्लेख गरेका थिए। अन्त्यमा उनि घर फर्कन्छन् तर उनले चाहेको घर र देश उनले भेट्दैनन्। बिदेशिनुपूर्वको देश र घरको एउटा तस्विर मनमा गाडिएको हुने रहेछ, र बिदेशिएकाहरुको लागि समय थामिँदो रहेछ। कयौँ वर्षपछि फर्कँदा पनि आफूले छोडेको समय, परिवेष र नाप-नक्शा जहिँको तहिँ होला भन्ने लाग्दोरहेछ तर समयसंगै प्रत्येककुरा परीवर्तन हुने रहेछ। त्यस लेखमा लेखकले यस्तै कुरा गरेका थिए।

उनकै कुराले घच्घच्याउँदा र आफूले आफ्नो स्थिती नियाल्दा यो कविता बनेको हो। कविता धेरैलाई चित्त बुझेछ र म जस्तै बिदेशिने साथिहरुले आ-आफ्नो देशको नाम राख्दै कविता बाँडेको देखेर धेरै नै खुसि लागेको छ। मेरा छरिएका कविताहरु र अरु लेखहरुलाई यो ब्लगमा एकै ठाउँमा राख्ने प्रयत्नमा यहि कविता--

नेपाल एकदिन फर्कन्छु (?!)

नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
संकल्प धेरै पटक मनमा आए।
तर, पढाइ त पुरा होस!
कलेज – डेरा, डेरा - कलेज
पढाई पनि सकियो।
यतिका बर्ष बिताईयो,
खालि हात के जानु!

नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
तर केहि बर्ष जागिर त खाउँ!
जागिर पनि खाइयो।
डेरा – जागिर, जागिर – डेरा
एक्लो भइएछ दुबैमा!
तर, म एक्लो भएको कुरा
मलाई भन्दा पहिला
नेपालमा आमालाई थाहा भयो!

नेपाल एकदिन साँच्चै फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
अहिले बिस दिने बिदामा आएको।
तपाईँको कपाल कति धेरै फुलेछन् आमा!
बुबा पनि कमजोर हुनुभएछ!
आमा बुबालाई मनभरि हेर्न नभ्याउँदै,
बिस दिनमा जीवन बिताउने
सम्झौता गरियो कुनै अपरिचित संग!

नेपाल एकदिन फर्कन्छु!
अमेरिकामा रमाउन सकिन्न!
तर अहिले अलिक मिल्दैन।
उसको भ्याई नभ्याई छ
मेरो बिदा उसको काम,
उसको बिदा मेरो काम!
फेरि छोरो पनि सानै छ!
छोरो अलिक ठुलो त होस!

नेपाल एकदिन फर्कन्थेँ
अमेरिकामा कहिल्यै रमाइन
तर कसलाई भेट्न जाउँ?
साथि भाईको खबर छैन
काका पनि ओछ्यान परे रे
कान्छो मामा पोहोर बिते रे!
आमा, बुबा त अब
हरदम म संगै छन्
मेरो यादमा, केवल यादमा!!


दिब्य ज्योती

0

वक्तृता बनि दिब्य ज्योती सबैमा छरे
मातृत्व अनुनय टेवा ब्यग्रताले धरे

सहिष्नुता प्राचुर्य थियो विद्यमानमा
जिवनको दृढ संङ्कल्प बनेछ खहरे

अविचाल को उत्साह कसैमा नहुदा
चैतन्य रहित सबै बुद्दि भ्रष्टमा झरे

आत्मघाती अभिप्राय जिबनको प्रत्ययमा
उत्ताउलो स्वैच्छाचारी रिपु सँग डरे

तृप्त गर्ने आशा नै लछ्य हिन हुदा
आफ्नो जिवनको अन्त्येष्टि आफैले गरे


जीवनको खुसी

0

अन्जान बिबश एक्लो
तुल्सिपुर, दाङ्

जीवनको खुसी चहार्दै हिडेँ
भीडभाडको माहौलमा झपार्दै हिडेँ

जीन्दगी के हो परिभाषित नहुँदा
धर्तिमा आफैलाई लतार्दै हिडेँ

कर्मको बोझ थुप्रियो काँधमा
अशक्त पाउहरु बटार्दै हिडेँ

जीउनलाई साँच्चिकै नमज्जा लाग्यो
गलहत्याई पचक्क मार्दै हिडेँ

भूमिमा निष्फिक्री ढलेको ज्यान
यमराजको समिपमा टकार्दै हिडेँ ।


चुनौती बुझ्ने छाता

0

हेर्दाहेर्दै हतार-हतार दुनियाँ
सायद कहीँ-कतै नजिकै
ओत खोज्न दौडिरहेछ ।

छड्के पर्छ त्यो बतासे पानी
सानो छाता, दुई आकृति
तैपनि अट्न खोजिरहेछ।

गडगड गड्कन्छ आकाश
हावाको वेग बढ्दै जान्छ
अझै चुनौती थपिरहेछ ।

छाता उढ़छ बेवास्ताले, सायदै
पानीको थोपै छिर्न सक्दैन
दुई बीचको दूरी खुम्चिसकेछ ।

बुझेन चुनौती मैले, दुनियाँले
तर चुनौती बुझ्ने त्यो छाता
महत्वहीन भई उत्तानो लडिरहेछ ।



काठमाडौँ कथा

0


जोतारे धाइबा

बटुल्छ थोते मुस्कान,
कुनाको बस्तीमा ट्वार्र-ट्वार्र हुक्का तान्ने
मानौँ ऊ त्यो ज्यापूबा हो-
उही मुस्कानको विरही रङमा
चाउरी छल्काउँदै गालाकिनारसम्म
उस्तै उदास होली खेलिरहन्छ

ठमेलको साँगुरो साँझ
फराकिलो हल्ला
बत्तीहरूको अटूट रिमझिम
र बुढ्यौलीको सीमामा
रोग ओढेर असिनपसिन बूढीमाउ सम्झिँदै
मनीब्यागको खाडल पुर्न तल्लीन
कुनै नगरबधूको जून अस्ताएको मुहार
केही मिल्दैन,
एकरत्ती केही ।

घण्टाघरसामु
घडी बाँध्नुको अर्थ के हुन्छ ?
धरहराबाट
फाल हाल्नुको बौद्धिकता के हुन्छ ?
काठमाडौँ-
चक्रपथको उही घुम्ती लम्बाइमा
रिँगटा पालेर हराइरहेछ,
मान्छेहरूको यान्त्रिक दिमागमा
कोठा-सडक-कार्यालयकक्षको
ख्याट्ख्याट् क्यालकुलेटरभरि
जिन्दगीको हिसाबमिलानमा मस्त उँघ्छ,
भोकाएर फुटपाथमा
सानदार मोटरका हेडलाइटले
तिरमिर आँखाभरि विरक्त अघाउनु छ
चर्चित चोकको जेब्राक्रसिङमा
आधा जिन्दगी समाउँदै
बेस्सरी श्वास फ्याँक्नु छ,

काठमाडौँ साहेब !
लाख पाइलाहरुले माडिएको
यो खाडलमा
कथाहरू मात्र छन् कि
व्यथाका बूढा ल्याम्पपोस्टहरू पनि पिलपिलाउँछन् ?


मुटु माझमा

0

Share 

  • यदु
ओखलढुङ्गा, हाल : दोहा कतार
----------
तिमीबाहेक यो मन कतै सर्दै सरेन |
यो मुटुमा तिम्रो माया मर्दै मरेन ||

अझै तिमीलाई पर्खिरहेछु भेटिएला भन्दै |
बाँचिरहेछु बिछोडका दिनहरु गन्दै ||


साउने झरी भएका छन् मेरा नयन आज |
तिम्रो माया मेटिएन मेरो मुटुमाझ ||

किन होला आज-भोलि सारै याद आउँछ |
छातीभित्र जताततै तिम्रो मात्रै नाम छ ||

यो जीवनमा मैले आज यस्तो ढोका खाएँ |
कसैको पनि विश्वास छैन भन्ने शिक्षा पाएँ ||

आफ्नो भन्ने कोही'नि छैन सबै पराइ भए |
मनका सबै खुसी जती बिलाएर गए ||

गरी खान्छु भन्ने इच्छा ओइलाएर गयो |
बाँच्न मलाई रहर छैन विष पिए भयो ||

मेरो पीडा दिन्नँ तिमीलाई आँसु बनाई पिएँ |
बाहिर आउने मनका शब्द यहीँ रोकिदिएँ  ||


खुल्ला आकाश

0


  • यात्री शेखर
खुल्ला आकाश जूनतारा, गीतको लागि भाका होला ।
लाली गुराँस फुलिरहने, नवै रंगका पाखा होला ।

प्रकृतिको सिर्जनामा, सबै दङ्ग मख्ख पर्छन् ,
प्रकृतिकै उपहार हाम्ले साथ पा'का होला ।


हात भए साथ हुन्छ, भावना त हो नि सानु
भेट गर्न हामी पनि, त्यसैले त धा'का होला ।

उचाइमा पुग्छन् सबै, नसोचेकै साथहरु,
आपसमा हराएर हाम्ले माया ला'का होला ।

केही थे'न हिजोसम्म, एक अर्कामा लिनु-दिनु,
अब सधै भेट्न पर्ने किन यस्तो भा'का होला ।

विचित्रको संसारका, छुट्टाछुट्टै दुई मन,
एकै हलमा नारेर, कस्ले यस्तो दा'का होला ।

मनभित्रका लहरहरु, आयात-निर्यात गरिरहुँ ,
चेक अनि भन्सार छैन, हाम्लाई खुल्ला नाका होला ।


गजल

0

दह्रो छैन भन्छन् चिप्लेला पाउ हजुरको
हार्दा'नि जित हुने हुन त दाउ हजुरको ।

वहाबको धार बुझी खियाउनु आफैँ अब
अरुको भर पर्दा डुब्ला नि नाउ हजुरको ।


कुन सपना छर्नुभो घाम नपुग्या गाममा
चर्चाको शिखरमा पुगेछ हाउ हजुरको ।

प्रभुको कृपा हजुरको भक्ती तथास्तु भो कि
आजभोलि बढ्या छ सर्वत्र भाउ हजुरको ।

कोठामा बसी छाना जलाउनु हुन्न लैलैमा
जलेपछि दुख्दैन र आफ्नै घाउ हजुरको ।


नदेउ,र नलाउ

0

शिब प्रकास
दुइ मुक्तक

एक

नदेउ
दोष तिमी मेरो नजरप्यालालाई
सम्हाल त्यो झर्झर यौवनज्वालालाई
रोक्न सक्दैन फूलले आफ्नै वासना -
कसरी छल्छौ तिमी हजार आँखालाई ।

दूई

नलाउँ
फेरी माया फाटेपछि सिउन गाह्रो हुन्छ ।
फूटेको प्यालामा मधुरस पनि पिउन गाह्रो हुन्छ
साँचेर फाटेको माया, बाँचेको छु पिएर -
नपाए'नि माया, पिउन नपाए जिउन गाह्रो हुन्छ ।


हिमालमुनि

0


  • हस्त गौतम मृदु
हिमालमुनि हरिया पहाड फैलेका टाँकुरा
मगमग बास्ना छरेका सधैँ  पालुवा आँकुरा ।

आकाशमुनि उडेका चील पखेटा फिजाई
सौन्दर्यशील सुन्दरता औधी प्रकृति रिझाई ।

सुनौला बादल रुपौला खेत धान छ मुलेको
बगेको नदी झरेको झर्ना सौन्दर्य खुलेको ।


स्वर्गमा पनि स्वर्ग जस्तो रमाइलो गाउँघर
धर्तीको सपना यत्तिको राम्रो अन्त पो काँ छ र ।

गुलाफ फूल बिर्साउने जस्ता स्वर्गका ती परी
मनलाई भुलाई वनमा गाउने सिमल ती चरी

धाइरो फुली मुकी मुकाउ त्यो रानी वनैमा
स्वर्गीय आनन्द छाएको हुन्छ मानव मनैमा ।


जरुर म पागल भएँ

0

हस्त गौतम मृदुल

जरुर म पागल भएँ मेरी मायालुकै मायामा
म ती स्मृतिलाइ समाउन खोज्छु उन्कै छायामा

होस मै छु म हरेक शब्दमा उनैलाइ नै देख्दछु
मन परीदृश्यहरुमा भेटी उनैका गित लेख्दछु
फुलको बास्नाको स्वाद लिन्छु गहिराइमा डुब्छु
मृत्युलाइ पनि छलेर म उन्कै परेलीमा नै लुक्छु
जरुर म पागल भएँ………………………
म जीवनको अबशेष खोज्दछु उन्कै छायामा


स्वर्ग कही कतै छैन नी चोखो माया नै हो स्वर्ग
जाहाँ जस्ले आत्माहरु रुवाउछन बरु त्यही हो नर्ग
म बोल्दछु सपनामा अनी चाँदनी त्यो हर रातमा
उनी आत्मा हुन मेरी म मरे पनि हुन्छिन साथमा
जरुर म पागल भएँ………………………
म जीवनको अबशेष खोज्दछु उन्कै छायामा


फोहोरी खेल !

0


जहाँ नैतीकताको अभाव र
बेइमानीको भेल हुन्छ ।
विश्वकै अनुपम व्यबस्था पनि
त्यस ठाउँमा फोहोरी खेल हुन्छ ।
न नियम तोडनेलाई सजाँय
न आपसी मर्यादा र मेल हुन्छ ।
स्वच्छतालाई पनि फोहोर बनाएर
फोहोर माथि फोहोरी खेल हुन्छ ।
विपक्षीलाई हराउन
यो खेलमा सधैं झेल हुन्छ ।
कहिले एउटै टोलीमा फुट त
कहिले कुकुर बिरालोको मेल हुन्छ ।
कहिले आफ्नै खेलाडीले धोका दिएर
आफ्नै पक्षसंग तोल-मोल गर्छन ।
कहिले विपक्षीले पनि ‘पोका’ लिएर
जानी जानी आत्मघाती गोल गर्छन ।
जित्ने टोलीका खेलाडीहरु
खेललाई जतीसक्यो लम्बाउन खोज्छन ।
हार्ने पक्ष भने ढुङ्गा मुडाले
अर्काको शिल्ड पनि हत्याउन खोज्छन ।
कहिले जर्सी पनि साटासाट हुन्छ
कहिले मुक्का र लाता-लात हुन्छ ।
न नीति न तर्कको बात हुन्छ
केवल तथानाम र काटाकाट हुन्छ ।
साम, दाम, दण्ड अनि
जहाँ पाईला पाईलामा झेल हुन्छ ।
फोहोरमाथी फोहोरीहरुको
पुरानै फोहोरी खेल हुन्छ ।
विश्वकै उत्कृष्ट व्यबस्था पनि
त्यस ठाउँमा फोहोरी खेल हुन्छ


अभिलाषामा

0


- आयुष चौधरी सम्मोहन
- रझेना ५ बाँके
- हाल रेडियो जन आवाज एफ। एम। ९७।३ नेपालगाज बाँके

सेताम्य हिँउ बोकेका पहाडहरु
देख्ने अभिलाषमा
रमाईरहेका मेरा सपनाहरु
रातको अन्त्यसँगै
बिलाएकाछन् उज्यालोहरुमा
तर म किंचित पनि डगमगाएको छैन
सपना देख्नकालागी हुन्छन्
उज्यालो सपना तोड्नकालागी हुन्छन्
सपना चिस्सिएर चरचरती फुटेपिन
फेरी रातको प्रतिक्षामा
जोडिने अभिलाषामा
थालेकोछु लामो अथक यात्रा हिमयुगतिरको ।
यात्रा लामो छ कठिन पिन
पर्न सक्छन् मुसलधारे वर्षा अबरोध बिना
चिरा फाट्न सक्छन् बाटाहरुमा
बिस्फोट हुन सक्छन् ज्वालामुखी लाभाहरुमा
चिन्न नसकी आफ्नै अस्मिता
बेराउन सक्छन् बेडी र जन्जिर शरिरमा
आँशु भेलको यो सामुन्द्रीक यात्रा
तर पनि म तय गर्दैछु
ति सेताम्य हिँउ बोकेका पहाडहरु देख्ने अभिलाषामा ॥


आखिर त्यही भयो पित्तलमा सुन दल्नु भो

0

आखिर त्यही भयो पित्तलमा सुन दल्नु भो
टलक थियो थेन जलपको भरमा छल्नु भो

उज्यालो छर्न नि पिधँमा पुगी सक्यो तेल
धिपधिप गरेर फेरि किन आँफै बल्नु भो

हुकुमको एक्का हपिए चल्ने आँट कसको
खेलाडी मसुर हजुर कत्रो चाल चल्नु भो

बर्तमान थर्कमान हुन्छ जो सित भने
पत्ताउ कसरी,हल्लै रछ हजुर गल्नु भो

रेफ्री आफ्नै मैदान आफ्नै खेलको कुरा न हो
छेक्ने कसले? बल नै हजुरले जो भल्नु भो


पशूबध रोकौ

0

हस्त गौतम मृदुल

म जस्तै उ जीव हो, हत्या नगर
ज्यानको आशा सवैलाइ हुन्छन,फत्ते नगर
शान्तिमा जिउनु छ,सुख नखोस
निर्दोष प्राणी निरही ठानी, मृत्यु नहोस
यस्ले नबोल्न सक्छ, न गुनासो पोख्न सक्छ
प्राणी हत्या अपराध भनी, कस्ले रोक्न सक्छ
म जस्तै उ पनि ..............................


छोराछोरी झै हुर्‌काउछौ , दानापानी खुवाइ
अन्तमा किन मार्र्छौ, घाँटी सर्काइ
न दैव बोल्छ न त छ बाँच्ने, जिउने अधिकार
सवै बाँच्न पाउने, कैले होला संसार
म जस्तै उ पनि......................................


देश अवशेष बन्न लागेको बेला

0

-एकलव्य
देश अवशेष बन्न लागेको बेला
जनताको मन रुनु पर्ने हो
आँसुको भल बग्नु पर्ने हो , तर
हर्ष र खुशीले लुकामारी खेलेर होला
मातम पनि यहाँ पर्व बनेर छाएको छ
स्वबिनाशमा पनि उमंग पलाएको छ
सायदै , जनता यहाँ को बाँकि छ
निरन्तर केवल तमाशा र झाँकी छ
राजनीतिका गरा र फोक्टामा विभक्त
केवल, आफ्ना अभिष्टाहरूमा आशक्त
शठ , पाखण्डी अनि स्वार्थमा अनुरक्त
आरोपित विचारको नशामा अनुभुक्त
यहाँ मात्र राजनीतिका ठेकेदारहरू छन्
नाफा र नोक्सानका भागिदारहरू छन्
आन्दोलनका मेला भर्ने व्यापारीहरू छन्
आफ्नैहरूको भेलामा रम्ने लाचारीहरू छन्
बिनाशमा रमाउने धुन्धकारीहरू छन्
स्व-आल्हाद रम्ने अघोरीहरू छन्
मातृभूमिलाई चिथोर्ने फोहरीहरू छन्
देश अवशेष हुन लागेको बेला
जनताको मन रूनुपर्ने
तर, यहाँ सदैव उमंग नै छाएको छ
त्यसैले मातमलाई उसले पर्व मनाएको छ ।


महान जँड्या !

0


यता जनता,
चुरोट तानेरै भए पनि राजश्व बढाउँदै छन ।
उता नेता, 
राजश्व  हानेरै भए पनि घर ठडाउँदै छन ।
गाँउको कालु,
अन्त: शुल्क तिरेको मदिरा तान्छ ।
सहरमा ठालु,
कर छलेर विदेशी खान्छ  ।
एउटा जँड्याहा आफ्नै खर्चमा
भट्टीमा जान्छ ।
अर्को सभासद
संसद रोकेर भत्ता चाहि खान्छ ।
म त भन्छु,
मेरा यी नेता भन्दा त्यै जँड्या महान छ ।
कमसेकम रक्सी पनि
ट्याक्स तिरेर त खान्छ ।


मन लाग्यो गुन्द्रुकसंग, ढिडो खा’को गजल लेख्न ।

0

- यात्री शेखर
मन लाग्यो गुन्द्रुकसंग, ढिडो खा’को गजल लेख्न ।
गैरी खेतको पर्म तिर्न, मेला गा’को गजल लेख्न ।
ती बर्खामा छानो चुदाँ, थाल थापी हुत्याएको,
बर्षै पिच्छे घरको छानो, खरले छा’को गजल लेख्न ।
गोठालोका गट्टाकुट्टी, आइरहन्छ सम्झनामा,
चोरपुलिस लुकामारी, हैरान् भा’को गजल लेख्न ।
नेप्टी चेप्टी डल्लीलाई, झ्याङ्मा लुकी तर्साउदा,
रामे श्यामे हामीलाई, मज्जा आ’को गजल लेख्न ।
स्कुल छाडी सिनेमामा, रमाउँदा कस्तो मज्जा,
भोली पल्ट छडी खाँदा, दुःख पा’को गजल लेख्न ।
बालापन्का यादहरु, संगालिन्छन् हिजो आज,
स्मृतिमा ती दिनहरु, र्तिमिरा’को गजल लेख्न ।




 

All-In-One Copyright © 2010 Premium Wordpress Themes | Website Templates | Blog Templates Designed by Lasantha