अन्तिम निर्णय



अचानक आधा रातको समयमा गाउँमा हल्लखल्ला मच्चिन थालेको हुनाले गाउँलेहरू अत्तालिँदै यताउता दगुर्न थालेका थिए । कतिपय गाउँलेहरूले त खास कुरो के हो, त्यो पनि बुझ्न सकेका थिएनन् । जब केहीबेरमै नकाबधारी डाँकाहरूको जत्था घरघरमा पसेर लुटपाट गर्न थालेपछि भने गाउँलेहरूको होस उडेकोझैँ भएको थियो ।

ती नकाबधारी लुटेराहरूले मानिसहरूको कञ्चटमा बन्दुक र पेस्तोल तेस्र्याएर आफ्नो मनोमानी गरिरहेका थिए । गाउँलेहरूका घरका सर-सामान मात्र लुटेर ती यौनपिपासु डाँकाहरूलाई सन्तुष्टि मिलेको थिएन । उनीहरूले घरका पुरुष सदस्यहरूको हातखुट्टा बाँधिदिएर उनीहरूलाई भुइँमा लडाएपछि उनीहरूकै आँखा अगाडि घरका स्त्रीहरूको शरीर लुछाचुँडी गरेर भोग गर्न पनि पछि परेनन् ।
त्यसपछि रातको चौथो प्रहरमा ती लुटेराहरू आफूले लुटेको सरसामानसहित सीमावर्ती क्षेत्रतिर भागेका थिए ।
यो घटना घटेको बेला नरप्रसाद आफ्नी गर्भिणी पत्नी र सात वर्षीया छोरी सरस्वतीलाई लिएर भारतस्थित आफ्नो ससुराली भए ठाउँतिर गएका थिए ।
नरप्रसादले आफ्नो गाउँ फर्किन अगावै गाउँमा डाँकाहरू पसेर उत्पात मच्चाएको कुरा विभिन्न सञ्चार माध्यमद्वारा थाहा पाइसकेका थिए तर जब गाउँ फर्केपछि उनले गाउँलेहरूको मुखबाट त्यस हृदयविदारक घटनाको यथार्थ विवरण सुने तब आक्रोशले उनको मुठ्ठी कस्सिएको थियो ।
"के गर्ने भाइ ! ती डाँकाहरू सबै आधुनिक हतियार लिएर गाउँ पसेका थिए । त्यसकारण ती हतियारबन्द डाँकाहरूको अघि हाम्रा निरस्त्र गाउँलेहरू आखिर कतिबेर टिक्न सक्थे र ?" नरप्रसादको घरको पिँढीमा बसेर उनीसँग कुरा गर्दै गरेका उनका छिमेकी महेश्वरले पीडायुक्त स्वरमा नरप्रसादसँग भनेका थिए । "अनि उसो भए गाउँमा कसैले पनि त डाँकाहरूको प्रतिकार गरेनन् त ?" नरप्रसादले प्रश्न गरेका थिए । "गरेका थिए, किन नगर्नु तर प्रतिकार गर्ने मानिसलाई बन्दुकको कुन्दा र बुटले हानेर मरणासन्न अवस्थामा पुर्याएर छाडे । त्यै भएर त नगेन्द्र अहिलेसम्म अस्पतालमा उपचार गराउँदैछन् । उसकी स्वास्नीलाई पनि डाँकाहरूले उसैको आँखा अगाडि सामूहिक बलात्कार गरेका थिए । नगेन्द्रले प्रतिकार गर्न खोजेको थियो । डाँकाहरूले उसका दुवै हात भाँचिदिए" महेश्वरले भने । "हेर भाइ ! खेती गर्नको निम्ति जसरी अडिलो आली लाउनु पर्छ, त्यसैगरी कुनै पनि देश थाम्नको निम्ति बलियो काँध हुनु आवश्यक छ । हामी मैदानमा बसेकाहरूले देशको चार किल्ला थामेर बसेका छौँ । यसर्थ हाम्रो रक्षाको जिम्मेवारी सरकारले लिनै पर्दछ तर यहाँ सब कुरो उल्टो भइरहेको छ । जे जति सुविधा प्राप्त भएको छ, त्यो हामीसम्म आई पुग्दै पुग्दैन । अस्ति भएको घटनाकै कुरा लिउँ, डाँकाहरूले हाम्रो गाउँमा पसेर जथाभावी उत्पात मच्चाएर गए । हामीले हाम्रा पीडा, मर्का सरकारसमक्ष राख्यौँ तर खोइ ! उसले के गर्यो ? विभिन्न सञ्चार माध्यमहरूले व्यङ्ग्यको झटारो हान्न थालेपछि बल्लतल्ल प्रशासनको तर्फबाट दुई-चार जना कर्मचारीहरू आए र सर्जमिन गरेर गए । त्यसपछि अहिलेसम्म कसैले पनि चासो देखाएका छैनन् । यस्तै छ यहाँको चाला, 'जुन जोगी आए पनि कानै चिरेको' महेश्वरले निकै लामो वक्तव्य दिँदै भने ।
"होइन दाइ ! अब हामीले पनि आफ्नो गाउँको सुरक्षाको निम्ति केही न केही उपाय त गर्नैपर्छ ।" महेश्वरको कुरा सुनेपछि उत्तेजित हुँदै भनेका थिए नरप्रसादले । "हो, ठीकै भन्यौ भाइ तिमीले । हामी आफैँले पनि आफ्नो गाउँको सुरक्षाको निमित्त सकेसम्म उपाय गर्नैपर्दछ । अहिलेलाई हामी गाउँलेहरू सबै मिलेर सल्लाह गरेअनुसार समूहसमूह बनाएर पालैपालो राति पहरादिने गरेका छौँ । आज तिमी थाकेको हुनाले पालो दिन पर्दैन भोलिदेखि भने हामीले पनि पालो दिन जानुपर्छ" नरप्रसादको कुरा सुनेपछि महेश्वरले भने- "अँ... तिम्रो पालो परेको बेला चाहिँ सरस्वतीलाई हाम्रा केटाकेटीहरूसँग सुत्न पठाइदिए हुन्छ ।" महेश्वरले भनेका थिए । "ए....... मैले त बुहारीको स्वास्थ्यबारे सोध्छु भन्दाभन्दै भुसुक्कै बिर्सिएँछु । साँच्चै बुहारीको विषयमा डाक्टरले के भने ?" महेश्वरले फेरि कुरो थप्दै प्रश्न गरेका थिए ।
"शरीरमा कमजोरी बढी छ अरे । बच्चा नजन्मदासम्म ज्यादै परिश्रम गर्नु हुँदैन भनेका छन् । गतिलो खालका खानपान र आरामको आवश्यकता छ भने । त्यसैकारण सासू-ससुराले बच्चा नजन्मदासम्म हामी नै राखेर स्याहार गर्छौँ भनेका हुनाले उतै छोडेर आएँ । यो छोरी पनि उतै आमासँगै बस्छु भनेर ढिपी गर्दै थिई । यता गाउँमा स्कुलको जाँच आउन लागेको हुनाले आफैसँग लिएर आएँ ।" नरप्रसादले भने ।
"ठीकै गर्यौ । बुहारीको स्वास्थ्य ज्यादै नै खस्केको थियो । पछि स्वास्थ्य लाभ गरेपछि त आइहाल्छिन् नि ... ल, म जाउँ अब ।" भन्दै महेश्वर उठेर आफ्नो घरतिर लागे ।
त्यसपछि करिबकरिब चार महिनापछि एक रात फेरि गाउँमा डाँकाहरूले आक्रमण गरे । गाउँलेहरूले पनि आफूसँग जे जस्तो हतियार, लाठी आदि थिए, त्यसैको भरमा सकेसम्म भिडेर लडेका थिए तर अन्त्यमा ती बन्दुकधारी डाँकाहरूको अघि उनीहरू परास्त हुन बाध्य भए । उही पहिले घटेको घटनाको फेरि पुनरावृत्ति भयो । यसपटक पनि पहिलेकोझैँ डाँकाहरूले बन्दुकको त्रास देखाएर मानिसहरूलाई निर्मम तरिकाले कुटपिट गरेर लुटपाट र बलात्कारजस्ता घृणाजन्य कार्य गरे । उनीहरूले वस्तुभाउ खोेलेर लगे, अनि जाँदाजाँदै दुई-चारओटा घरमा आगो पनि झोसेर गए ।
अर्को दिन बिहान झलमल्ल घाम लागिसक्दासम्म पनि गाउँलेहरू आफ्नो घरदेखि बाहिर निस्कन डराइरहेका थिए । लोग्ने मानिसजति आफ्नो विवशताको कारणले गर्दा मलिन अनुहार पारेर एकोहोरिइरहेका थिए भने बलात्कृत स्त्रीहरूको अत्यन्त पीडादायक मन्द रोदन अझ थामिइसकेको थिएन । बालबालिकाहरू भयको कारणले गर्दा आमाको वरिपरि गुजुल्टिएर बसेका थिए । उनीहरूको काँतर दृष्टिमा अघिल्लो रात घटेको त्रासदिपूर्ण घटना चलचित्रझैँ रिङ्गरिहेको थियो । उनीहरू एक क्षणको निम्ति पनि आफ्ना अभिभावकदेखि पर हुन चाहेका थिएनन् ।
बिहानको निकै समय घर्केपछि जब गोठमा बाँकी भएका वस्तुभाउहरू भोकाले कराउन थाले, तब एकएक गरेर विस्तारैविस्तारै मानिसहरू ढोकाबाट बाहिर निस्कनुभन्दा अघि चारैतिर पल्याकपुलुक हेर्दै बाहिरिन सुरु गरेका थिए ।
त्यो रातको भिडन्तमा गाउँका केही मानिसहरूलाई सामान्य चोट लागेको थियो भने पाँच जना गाउँलेको अवस्था ज्यादै गम्भीर भएको थियो । यति मात्र होइन, गाउँदेखि अलि परको खेतमा गाउँका चारओटि किशोरीहरूको निर्वस्त्र देह कहालीलाग्दा अवस्थामा भेटिएका थिए । ती किशोरीहरूको सारा शरीरभरि नीलडाम र दाँतको चिन्ह स्पष्टरूपमा देखिएका थिए । उनीहरूलाई अर्थचेतन अवस्थामा अस्पताल पुर्याउँदा पुर्याउँदै तीनओटी किशोरीहरूको बाटोमै मृत्यु भयो । एउटी भने डाक्टरहरूको अथक प्रयासले गर्दा बाँच्न सफल भएकी थिई ।
"आ...मा..... । आमा.... ! मलाई बचाऊ" त्यो किशोरीले होस आउनासाथ आर्तनाद गर्दै अस्पतालको ओछ्यानमा छट्पटाउन थालेकी थिई । घर आएपछि पनि उसको मानसिक अवस्था सामान्य हुन सकेको थिएन । कुनै पनि लोग्ने । मानिसलाई देख्नासाथ किशोरी रुने, चिच्याउने गर्दै लुक्ने ठाउँ खोज्ने प्रयास गर्दथी । यहाँसम्म कि राति पनि ऊ अचानक ब्यूँझेर रुने, चिच्याउने गर्न लागेकी थिई ।
उसको त्यस प्रकारको दारुण अवस्था देखेर सबैको मन पीडाले भरिन्थ्यो ।
"बाबा ! अञ्जु, शकुन्तला, बिनु र रमिला दिदीहरूलाई डाँकाहरूले किन खेतमा लगेर कुटेका हुन् ? उनीहरूले अञ्जु, शकुन्तला र बिनु दिदीहरूलाई किन मारे ?" गाउँका अन्य बालबालिकाले आफ्ना अभिभावकहरूसँग प्रश्न गरेझैँ नरप्रसादकी छोरी सरस्वतीले पनि आफ्नो बाबुसँग बारम्बार यही प्रश्न गर्दथी ।
आफ्नी अबोध छोरीले गरेको प्रश्न सुइरोसरह बनेर नरप्रसादको छातीमा गड्दथ्यो । "छोरी ! अब तिमी मावलमा लेखपढ गर्नुपर्छ है । उतै बसेर धेरै पढ्ने ।" एक दिन साँझपख छोरीको छेवैमा बसेर निकै गम्भीर स्वरमा भनेका थिए नरप्रसादले ।
"हामी मामाघर कहिले जाने बाबा ?" मावल जाने कुराले निकै उत्साहित हुँदै प्रश्न गरेकी थिई सरस्वतीले ।
"भोलि, भोलि बिहानै म तिमीलाई तिम्रो मावल लिएर जान्छु ।" नरप्रसादले भनेका थिए । "तपाईं पनि उतै हामीसँगै बस्नोस् न बाबा ! यहाँ त डाँकाहरू आउँछन् ।" सरस्वतीको मनभित्रको त्रास शब्दद्वारा व्यक्तिएको थियो । "होइन छोरी, म त्यहाँ बस्न मिल्दैन । यहाँ हाम्रो घरजग्गा छ । हामी यहीँ बस्नुपर्छ ।" दृढ स्वरमा बोलेका थिए नरप्रसादले ।
राति खानपिन सिध्याएपछि नरप्रसादले छोरीलाई ओछ्यानमा सुताएपछि उसले ओढेको कपडा ओढाइदिँदै भने "तिमी ढुक्क भएर सुत है छोरी ! म यहीँ बाहिर पिँढीमा बस्छु ।"
"नाइँ बाबा ! मलाई डर लाग्छ । तपाईं पनि भित्र सुत्नुस् न ... ।" सरस्वतीले आग्रहपूर्ण स्वरमा भनी ।
"होइन, तिमी डराउनै पर्दैन । यी मसँग खुकुरी पनि छ । यो देखेपछि डाँकाहरू भागिहाल्छन् नि ।" नरप्रसादले छोरीलाई ढाडस दिँदै भने ।
त्यसपछि उनी दैलो खोलेर बाहिर गए अनि बाहिरबाट दैलो तानेर ढप्काएपछि पिँढीमा गएर बसे ।
रात निकै छिप्पिइसकेको थियो, अचानक गाउँका कुकुरहरू जोडजोडसँग भुक्न लागेका हुनाले बसेकै ठाउँमा निद्राले झुल्दै गरेका नरप्रसादको तन्द्रा भङ्ग भएको थियो । छेउमा राखेको खुकुरी हातमा लिएर नरप्रसाद आँगनमा गए र उभिएर परपरसम्म आफ्नो दृष्टि पुर्याए । जुनेली रात भएको हुनाले टाढासम्म छर्लङ्ग देख्न सकिन्थ्यो । अहँ उनले कतै केही देखेनन् । यी कुकुरहरू यसै त नभुक्नुपर्ने हो... । उनले मनमनै सोचे र आएर फेरि पिँढीमा बसे ।
"बाबा ! बाबा ! मलाई डर लागेको छ । तपाईं भित्र आउनुस् र दैलोको आग्लो लाइदिनोस् न ...।" भित्रबाट झिनो स्वरमा सरस्वतीले भनी ।
"ल, ल, म आएँ ... ।" भन्दै नरप्रसाद भित्र कोठामा गए । सरस्वती डरले खाटमा टुक्रुक्क बसेकी थिई ।
"ल.. किन डराएकी ? म छँदै छु नि ।" नरप्रसादले स्नेहवश छोरीको टाउकोमा मुसार्दै भने ।
"कुकुरहरू कति जोडजोडसँग भुकिरहेका छन् । बाबा । डाँकाहरू आए होलान् । अब डाँकाहरूले मलाई पनि खेतमा लगेर मार्छन् ।" डरले अनुहार फुस्रो भइसकेकी सरस्वतीले पिताको हात समातेर कम्पित स्वरमा भनी ।
"पख ! म दैलो बन्द गरेर आउँछु । म पनि यहीँ सुत्छु । नडराऊ । केही हुँदैन ।" छोरीको दयनीय अवस्था देखेर भित्रभित्रै सशङ्कित भएका नरप्रसादले कोमल स्वरमा आश्वासन दिँदै भने ।
नरप्रसाद उठेर दैलो बन्द गर्दा नगर्दै गाउँमा एक्कासि कोलाहल मच्चिन थालेको थियो । नरप्रसाद ढोका बाहिर निस्केर आँगनमा पुगे । "ओहो ! गाउँमा साँच्चै नै फेरि डाँकाहरू पसेका रहेछन् । नरप्रसादले हेर्दाहेर्दै गाउँका तीन-चारओटा घर आगोमा जलिरहेका थिए । आइमाई, केटाकेटीहरू गुहार माग्दै यताउति दगुर्दै थिए । बेलाबेलामा बन्दुक पड्केको आवाज पनि आएको थियो । नरप्रसादलाई के गरुँ ! के नगरुँ ! भयो । नरप्रसादका आँखाअघि अचानक रगतमा लतपत भएर अर्धमृत अवस्थामा खेतमा लडिरहेका किशोरीहरूको हृदयविदारक देह रिङ्न थाल्यो उनले तत्कालै केही निर्णय गरिहाले अनि हतपत्त घरभित्र पसेर दैलोमा आग्लो लाए ।
त्यसपछि छोरीलाई जुरुक्क उचालेर काँधमा राखे अनि घरको पछाडिपट्टकिो झ्याल खोलेर अर्को हातमा खुकुरी लिएर उनी बाहिरिए ।
नरप्रसाद दौड्दै गए, दौड्दै गए । "बाबा ... मलाई डर लागेको छ । डाँकाहरू ऊ परबाट हामीलाई खेद्दै आउँदै छन् । बाबा ... छिटो दौड्नुस न ।" कम्पित स्वरमा सरस्वती बोल्दै थिई ।
नरप्रसादले एकपटक क्षणभरको निम्ति दौड्दै गएका पाइला रोके र पछि फर्केर हेरे । साँच्चै नै केही मानिसहरू दगुर्दै उनीहरूतिर आइरहेका थिए ।
एकाएक नरप्रसादको नौनाडी गलेर आयो । ती डाँकाहरूले आफूहरूलाई खेद्दै आउनुको कारण उनीहरूको कुनियत हो भन्ने कुरा उनले स्पष्टसँग बुझिसकेका थिए ।
अचानक नरप्रसादले वेगसँग दौडन् प्रयत्न गरे तर उनका पाइला त्यसैत्यसै फतक्क गलेझैँ भयो । उनलाई वाक्वाकी लागेजस्तो पनि भयो । उनले यताउति हेरे । जङ्गल उनीबाट करिब सयमिटर जति पर थियो । नरप्रसाद दगुरेर जङ्गलभित्र छिर्न चाहन्थे तर सक्दै सकेनन् । उनले हतास भएर आफ्नो नजर वरपर घुमाए । केहीपर बडेमानको ढुङ्गो थियो । नरप्रसाद भएभरका शक्ति बटुलेर बल्लतल्ल त्यहाँ पुगे । उनले ढुङ्गाको पछाडि छेलिएर सरस्वतीलाई काँधबाट ओरालेर भुइँमा राखे र आफू पनि त्यहाँ घुँडा टकेर बसे । सरस्वतीको देह अझै पनि काँपिरहेको थियो । डरले लगलग कामिरहेकी सरस्वती अस्फुट स्वरमा बडबडाउँदै थिई । नरप्रसादले केही क्षणसम्म अश्रुपूर्ण दृष्टिले छोरीलाई हेरिरहे । अचानक सरस्वती बाउको घुँडामाथि घुप्लुक्क घोप्टो परी ।
नरप्रसादले परतिर मानिसहरू बोलेको सुने र घाँटी तन्काएर हेरे ।
उनले देखे एक हूल हतियारधारी मानव आकृतिहरू उनीहरूतिर आउँदै थिए ।
ती मानव आकृतिहरूलाई देख्नासाथ एकाएक उत्तेजनाले नरप्रसादको सारा शरीरमा रगत उम्लिएकोझैँ भयो ।
उनले खुकुरी समातेको हात अझ कस्सियो ।
"ए भगुवा ! तँ त्यो ढुङ्गो पछाडि लुकेर छोरीलाई बचाउँछु भन्ने ठानेको छस् कि क्या हो । ज्यानको माया छ भने छोरीलाई खुरुक्क यतातिर पठाइदे कि त त्यसलाई त्यहीँ छाडेर तँ जा जङ्गलतिर । हामी तलाईं केही गर्ने छैनौँ ।"
केहीबेरमै नरप्रसाद लुकेको ठाउँ नगिचै आएर डाँकाहरूमध्ये एउटाले ठूलो स्वरमा आदेश दिएको थियो । आफ्नो नगिचै आइपुगेका ती हतियारधारी लुटेराहरूको उपस्थितिले गर्दा नरप्रसादको आत्मविश्वास क्रमशः खिइन थालेको थियो ।
"ए ... ! बहिरो होस् कि क्या हो ? हाम्रा कुरा नमानेर मर्ने मन छ कि तँलाई ? छिटो गर, नत्र हामी त्यहीँ आएर तेरो आँखाको अघि नै तेरी छोरीको कस्तो दुर्गत पार्ने छौँ, थाहा पाउलास् !" अर्को स्वरले भन्यो ।
यता पिताको घुँडामा टाउको राखेर घोप्टिएकी सरस्वतीको कम्पित देह लल्याकलुलुक भइसकेको थियो । छोरीको अकल्पनीय दारुण अवस्था देखेर नरप्रसादको हृदयमा छोरीलाई कसरी उद्धार गरुँ भन्ने कुरोको हुण्डरी मच्चिरहेको थियो । "भएन अब त आफैँ अघि बढेर उचालेर ल्याउन पर्यो ... ।" अर्को एउटा डाँकाले भन्यो ।
त्यसपछि ती लुटेराहरू छिट्छिटो पाइला चालेर अघि बढ्न थाले ।
नरप्रसादले क्षणभरमै एउटा अठोट गरे, अनि बिजुलीको गतिमा खुकुरीको धार छोरीको कोमल गर्दनमा राखिदिए ।


0 comments:

Post a Comment

Send me comment for make strong to this blog....



 

All-In-One Copyright © 2010 Premium Wordpress Themes | Website Templates | Blog Templates Designed by Lasantha