यस्तो पनि हुँदैछ


दिनभरिको थकाइले होला मस्त निद्रामा परेँछु । 'किरिरी किरिरी' फोनको घण्टी बज्दा पो झसङ्ग भएर एकैचोटि फोन उठाउन पुगेछु । मैले फोनको रिसिभर कानमा लगाएँ, यताबाट हेलो गर्न नपाउँदै उताबाट भयमिश्रति एउटा पुरुष आवाज आयो- 'म्याडम ! सरको भाइलाई फोन दिनु ।' मैले फोन गर्ने मानिसको आवाज चिन्न सकिनँ दिनेश बाबुलाई बोलाएर फोन दिएँ ।

 पक्कै केही अपि्रय घटना भइरहेछ जस्तो लागेर म दिनेश बाबुले कुरा गर्दै गरेको हेरिरहेँ । उहाँले फोनमा 'हेलो' भनेकोबाहेक अरू कुरा बोलेको सुनिनँ । उहाँको हात त लगलग काम्न थाल्यो भने आँखाबाट आँसु र्झन  थाल्यो । मलाई आश्चर्य लागेर 'बाबु कसको फोन ?' भनी सोधेँ । बाबुका ओठहरू बोलिरहेका छन् तर बाहिर आवाजले चाहिँ उहाँलाई साथ दिएको छैन । फोनको रिसिभर यत्तिकै छोडेर दिनेश बाबु हड्बडाउँदै मलाई आएर घम्लङ्ग अँगालो हालेर रुन थाल्नुभयो ।
 म पनि कुरै नबुझी आत्तिएर रुन थालेँ ।  'बाबु के भयो ? किन यसो गर्नुभएको ? कसको फोन किन गरेको रहेछ ?' दिनेश बाबु त झन् डाँको छोडेर रुन पो थाल्नु भयो । हामी देवर भाउजूको रुवाइ र कराइले घरका सबै जना उठेर बैठकमा जम्मा भइसक्नु भएको थियो । आमाबुबाले आश्चर्य र त्रासपूर्ण स्वरमा सोध्नु भयो 'कान्छा के भयो ?'
 बूढा बुबाआमा भर्खर मात्र ज्वाइँको मृत्यु भएकाले त्यस घटनाबाट बाहिर निस्कन सक्नु भएको थिएन । फेरि अर्को बीभत्स घटना सुनाउन कान्छो छोरालाई निकै गाह्रो परेको थियो तर पनि यथार्थ लुकाउन मिल्ने पनि त थिएन ।
 जेठो ज्वाइँ हृदयाघात भएर छोरी विधवा भएको पाँच दिन नपुग्दै बिहान मात्र भेटेको जेठो छोरो कान्छो ज्वाइँ एकैचोटि बस दुर्घटनामा परेर यस संसारबाट बिदा लिएको कुरा कसरी व्यक्त गर्ने, दिनेशलाई साह्रै गाह्रो पर्‍यो तर पनि घरपरिवारको आड, भरोसा अब उहाँ मात्र बाँकी रहेकोले आफूलाई सम्हाल्नु अति आवश्यक थियो । आफ्नो मनलाई दह्रो बनाएर फेरि फोनकै रिसिभर समाउन पुग्नुभयो ।
 कामेको हात, त्रासदीपूर्ण अनुहार बत्तीको उज्यालोले प्रस्टै देखाउँथ्यो । उहाँ भटाभट फोन नम्बरहरू थिच्न थाल्नु भयो । पहिला नजिकका छिमेकी दाइहरूलाई फोन गर्नुभयो अनि आफन्तलाई फोनमा मात्र 'दाइ छिटो आउनुहोस् न' भन्दै फोन थपक्क राख्दै अर्को नम्बर थिच्दै गरेर बूढा बाबुआमा अनि भाउजूले टुलुटुलु हेरी मात्र रहेका छन् ।
 रातको बाह्र बज्नै लागेको थियो, पृथ्वी मस्त निन्द्रामा निदाइरहेको थियो । मात्र कुकुर, झ्याउँकीरीको आवाज एकोहोरो सुनिइरहेको बेलामा वल्लो, पल्लो र तल्लो घरका छिमेकी र इष्टमित्र आत्तिदै एकैचोटि जस्तो हाम्रो घरभित्र प्रवेश गरे । 'दिनेश ! के भयो हँ ?" सबैको एउटै प्रश्न एकचोटि खस्न पुग्छ ।
 चुपचाप लागेर सन्नाटालाई चिर्दै दिनेश बाबु रुन थाल्नु हुन्छ । 'हामी बर्बाद भयौँ । हाम्रो सर्वस्व लुटियो ।' आएका पाहुनाहरू छक्क पर्दै उहाँलाई सम्झाउने पाराले मायालु हातले सुम्सुम्याउन थाल्नु भयो । रामहरिदाइले भन्नुभयो "के भएको हो कान्छा ?" प्रस्ट भन त बा ! तिमीले मुख नखोले के भयो भनेर हामीले कसरी थाहा पाउने ? ।"
 दिनेश बाबु रामहरिदाइको आड पाएर झन् रुन थाल्नुभयो र आफूलाई सम्हाल्दै भन्नुभयो 'ठूल्दाइ र कान्छो ज्वाइँले पनि अब हामीलाई छोडेर जानु भयो रे .......... दाइ !'
 त्यति कुरा सुनेपछि मेरा त आँखाले संसार नै घुमेजस्तो देख्यो अनि म डङ्रङ्ग ढलेँछु । भोलिपल्ट ब्यूझँदा त घरभरि मानिसको गल्याङ्ग मल्याङ्ग आवाज सुन्छु । के ? किन ? विस्तारै आँखा उठाएर हेरेको त बाहिर तुलसीको मोठमा पिताम्बरले ढाकेर सुताइरहेको मानिस अनि उतापट्ट िबेहोस भएर लडिरहेका सासूससुरा ।
 भगवान् ममाथि किन यति धेरै कठोर भएका होलान् । कुनै त्यस्तो अरूप्रति अनादर र अनास्था त कहिल्यै गरेको थाहा थिएन भन्दै म अलाप विलाप गर्न थाल्छु । छोराछोरी पढाइका लागि बाहिर गएकोले त्यहाँ हामी सासूससुरा र कान्छो देवर बस्थ्यौँ । उहाँचाहिँ कामको सिलसिलामा बाहिर बस्नुहुन्थ्यो ।
 धेरैबेर रोएपछि मैले आफ्नो मनलाई आफैंँ बुझाउन थालँे । के गर्नु ? दैवले हानेपछि केही लाग्दैन भन्थे । साँच्चै रहेछ । म त छोराछोरीको मुख हेरेर चित्त बुझाउँला । ती बूढा भएका सासूससुराले आफ्नो किरिया गर्ने छोरोको किरिया कसरी गरेर बस्ने ? मानिसलाई एउटा मात्र घटनाबाट त कति आहत हुन्छ । उहाँहरूको त पाँच छ दिनको बीचमा तीनवटा घटना घट्नु । दुई छोरी र एउटी बुहारी एकैचोटि विधवा भएको हेरेर बाँच्नु पर्दा उहाँहरूको मन कस्तो हुँदो होला भन्ने लागेर म त उहाँहरू बेहोस भएर सुताइरहेको ठाउँमा गएर पानी छम्काई उहाँहरूलाई होसमा ल्याउने प्रयत्न गर्न थालेँ ।
 मलाई हेरेर उपस्थित सबै आफन्तजन मुखामुख गरिरहेका थिए । मचाहिँ सासूससुरालाई निरन्तर पानी छम्किरहेकी थिएँ ।


0 comments:

Post a Comment

Send me comment for make strong to this blog....



 

All-In-One Copyright © 2010 Premium Wordpress Themes | Website Templates | Blog Templates Designed by Lasantha