पूरै आयु



सम्झनाको घर नेपालको वीरेन्द्रनगर, सुर्खेत हो । आधुनिक सञ्चारमाध्यमको सशक्त साधन कम्प्युटरमा सम्झनालाई च्याट गर्ने बानी बनिसकेको छ । कि-बोर्डमा टाइप गर्दै हाँस्ने, रमाइलो मान्ने अनि भावुक हुने दिनचर्याको एउटा भाग उसको भइसकेको छ । साइबरमा पैसा तिरेको उसलाई कति पनि मनखत लाग्दैन ।

 एकदिन च्याट गर्दागर्दै सम्झनाको भेट जेशिकासँग भयो । उनीहरू दुवैले आ-आफ्नो परिचय दिए । उनीहरूको गफगाफ गहिरो बन्दै गयो । एउटै उमेर, एउटै पढाइ, एउटै चाहना अनि एउटै लक्ष्य उनीहरूको आत्मा नजिकिँदै गयो । कन्दरामा हुर्किएकी नेपालकी छोरी सम्झनाले अमेरिकाको जल्दोबल्दो विकासमा आँखा लगाउनु र नेपालको प्राकृतिक तथा सांस्कृतिक हराभरामा जेशिकाको जिज्ञासा जाग्नु स्वाभाविक हुँदै गयो । एकदिन च्याट गर्दागर्दै जेशिकाले सोधी- "तिमीले 'ब्वाई फ्रेण्ड' बनायौ ?"
 "नेपालमा ब्वाई फ्रेण्ड बनाउनु राम्रो हुँदैन । मैले त मेरो बुबाआमाले खोजेको केटासँग मात्र विवाह गर्नुपर्छ, बनाएको छैन ।"
 जेशिकाले फेरि लेखी- "मैले त एउटालाई रोजिसकेकी छु, सायद उसले नाई भन्दैन होला । हाम्रो हल्का प्रेम बसिसकेको छ । .... के गर्नु यी केटाहरू .... अलि मिलेको केटी फेला पारे भने उतै लाग्छन्..... ।"
 सम्झना खिस्स हाँसी, टाइप गरी- "बाह्र कक्षामा पढ्दैमा केटाहरू छान्न थाल्यौँ ?"
 "अहिले केटाहरू समात्न सकिएन भने पछि झन् गाह्रो पर्छ । कहाँ ! कलेज पढ्न सुरु गरेपछि कस्तो हानथाप पर्छ ... ।"
 सम्झनाले फेरि मन्द मुस्कान दिँदै टाइप गर्न थाली- "मलाई त केटाहरूसँग बोल्न पनि लाज लाग्छ । कसरी होला यो लाज हटाउने ? लौन ! सिकाउ !"
 यस्तो कुरामा खुला हुनु पश्चिमी सभ्यतामा उत्ताउलो भइँदैन । जेशिकाले पनि आफ्नो अनुभव सुनाउन दकस मानिन र लामो टाइप गर्न लागि- "सुरुमा म पनि सर्मिदी थिएँ । एक दिन जिस्किँदै मैले लन्चको लागि प्रस्ताव राखेँ । उसले स्वीकार गर्‍यो । आजकल हामी सधैँ लन्च गर्न स्कुल बाहिर जान्छौँ । गाडी उसले हाँक्छ । कहिलेकाहीँ म पनि उसको गाडी चलाउँछु । अब अर्को महिना मलाई पनि बुबाले गाडी किनिदिनुहुन्छ । लाइसेन्स लिइसकेको छु ।........त्यसपछि कहिले उसको गाडी, कहिले मेरो... कति मज्जा !"
 सम्झनाले लामो सास लिई र थुक घुटुक्क निली । अनि ओठ भिजाई । उसको मन लोभियो । उसलाई असहृय भयो । त्यहीबेला वीरेन्द्रनगरमा बिजुलीबत्ती गयो । सबै कम्प्युटरहरू बन्द भए । सम्झना घरतिर गई तर बाटोभरि उसको मन अटाई नअटाई हुँडलिन थाल्यो । उसको सोचाइ जेशिकाको ब्वाई फ्रेण्डभन्दा पनि गाडीतिर बहकियो । ..... हाइस्कुल पढ्ने विद्यार्थीको आफ्नै गाडी ! कति ठूलो तकदिर हगि । सोच्न थाली । धनी देशका धनी विद्यार्थी । सोच्दासोच्र्दै घर आइपुग्यो । आँगनको डिलमा नै आमासँग सम्झनाको भेट भयो । जब मान्छेले अर्काको देख्छ तब उसले आफूलाई पनि त्यसको आवश्यक भएको महसुस गर्दछ, यो मानव स्वभाव सम्झनामा पनि देखापर्‍यो तर त्यो सम्भव नभएपछि भाग्य र जन्मजातलाई धिक्कार्न बाध्य भई र मुख रसिलो बनाउँदै आमातिर हेरेर बोली- "आमा ! के गर्नु ! अमेरिकामा त आई.ए. पढ्ने विद्यार्थीले पनि गाडी चढेर कलेज जाँदा रहेछन् । उनीहरूको आफ्नै गाडी हुँदोरहेछ ।"
 आफ्नी छोरीले बेलाबेलामा जेशिकाको गफ निकालेर आफ्नो भाग्य ओझेलमा परेको भावुकताको आधारमा धैर्य गराउँदै आमा बोलिन्- "उसका बाबु धनी छन् होलान् । एउटा गाडी किनिदिन कुन ठूलो कुरो भयो र ?" किनिदिए छोरीलाई ।"
 सम्झनाले कोप्रा आँखा बनाउँदै आमातिर हेरेर आफ्नो असन्तोष प्रकट गरी ।
 "केको धनी हुनु नि ! सिनेमा हलको प्रोजेक्टर चलाउने अपरेटर अरे ! उसका बाबु'' आमाले केही जवाफ फर्काइनन् । नरम दृष्टिले छोरीतिर हेरिन् र घरभित्र पसिन् । सम्झना पनि आफ्नो कोठातिर लागी ।
 तर त्यो दिनदखि सम्झनाले जेशिकासँग च्याट गर्न सकिन । जतिसुकै कोसिस गर्दा पनि जेशिका कहिल्यै कम्प्युटरमा आइन । सम्झनाको मनमा कुराहरू खेल्न थाले । सायद गृष्मकालीन छुट्टी मनाउन बाहिर जान्छु भन्थी, गइहोली तर धेरै भयो । सायद स्कुलको वाषिर्क परीक्षा सुरु भयो होला ।... धेरै तर्कनाहरू गर्दै गई तर भेट हुँदै भएन ।
 एकदिन एक्कासि एउटा अनौठो इमेल सम्झनालाई आयो । इमेल पढिसकेपछि उसका आँखाहरू तिरमिराउन थाले । टाउको घप्लक्क कि-बोर्डमा ठोकी । परेलाबाट बरर्र आँसु र्झन थाले । स्वर सुक्यो । अनि साइबरबाट हानिँदै घरतिर गई ।
 पिँढीमा आमाछोरीको भेट भयो । छोरीको निन्याउरो अनुहार र राता आँखा देख्नासाथ आमाको अनुहारमा गहिरो बादल मडारिन थाल्यो र नजिकै गएर सोधिन्- "सम्झना ! किन आज न्याउरो देख्छु नि ! के भयो ? किन रोएकी ?"
 आमाको प्रश्न सुन्नासाथ सम्झनालाई खपिसक्नु भएन । आमाको छातीमा झ्याप्प अँगालो हाल्दै रुन थाली ।
 "आमा ! चाहिँदैन मलाई गाडी ... मलाई गरिब मुलुकमा जन्मेकोमा कुनै पछुतो छैन । म पूरै आयु बाँच्न चाहन्छु ।"
 "किन ? के भयो ?" आमाले छक्क मान्दै फेरि सोधिन् ।
 "आमा ! जेशिका गाडी दुर्घटनामा परेर मरिछ । भर्खर नयाँ गाडी किनेकी थिई । ठोकिएछ, कठैबरा ! पशु डाक्टर बन्छु, भन्थी । आज उसको बाबुको इमेल आएको थियो । दुई महिना भइसकेछ ।
 आमाको मन पनि खल्लो भयो । उनलाई नरमाइलो लाग्यो । न देख्नु न चिन्नु तर कहिलेकाहीँ आफ्नी छोरीले कुरा गरेको र फोटो देखाएको आधारमा नै उनले जेशिकाको हँसिलो अनुहार झलझली देख्न थालिन् र छोरीको नजिकै गएर सम्झाउन थालिन् ।
 "छोरी ! भौतिक विकासले मानिसलाई जति सुविधाभोगी बनाउँछ त्यतिकै अल्पायुमा खोसेर पनि लैजान्छ । त्यस्तै भयो जेशिकालाई पनि ! .... अब नरो ! रोएर फाइदा छैन ।.... उसले पूरै आयु बाँच्न पाइन !"


0 comments:

Post a Comment

Send me comment for make strong to this blog....



 

All-In-One Copyright © 2010 Premium Wordpress Themes | Website Templates | Blog Templates Designed by Lasantha