(लेख्नलाई प्रोत्साहन गरेकोमा रजितलाई आभार । )
उ औसत नै थिइ । जिन्स, ज्याकेट, गलाको मफलर र गणेशको टिका। मंगलबजारमा भेटिने एउटी अर्की युवती । औसत सुन्दरता, औसत चाल अनि कुमारी जीउडाल । भनिन्छ नि एक सर्को हेराइमा आँखाले नटिप्ने तर दोस्रो, तेस्रोमा नछुट्ने । उहि त्यही वर्गमा समाउथी । हुन त केटीलाई यसरी कुन्यु लाएर छुट्टयाउने होइन तर पनि हाम्रो जमातमा सल्लाह नगरी बसेको चलन थियो । हामी अपवाद थिएनौ । .......
हामी ‘फिक्विन्सी’ मिल्ने केटाहरुको आफ्नै समुह थियो । प्राय: सबै काँचा जागिरे थियौ । sociology को मास्टर्स, नियमिततामा उस्तो हुरुक्क थिएनौ । तर केटीहरु भने नियमीत नै हुन्थे । उनका आफ्ना कारण होलान वा कारण नै नहोलान । उनिहरुको नियमितामा सोचाइ लगिएन । अभ्यस्थ कुरा थियो, अभ्यस्थ नै राखियो । पुष/माघको महिना, खुलस्त भन्ने हो भने हामी आँखा सेक्न नै डोहोरिन्थ्यौ पाटन क्याम्पस । त्यो खाल्डामा जीउ भन्दा आँखा नै न्यानो मान्दथे ।
कता कता उसमा एउटा नजानिदो मादकता थियो । त्यो औषत थिएन, बिशिष्ट थियो । उसको वर्गमा समाउने अरु केटीमा नभेटिने । ठूला आँखा अनि गहिरो भाव । झुलुक्क हेर्दा याद नहुने तर हेरि रहँदा, कता कता पुगे जस्तो भान हुने । म जान्दिन त्यो मैले मात्र अनुभव गरे वा मेरा अरु समकक्षीले पनि । तर त्यो साधारण थिएन । उ एउटा गह्रौ व्यक्तित्व बोकेर आउँथि । जसलाई हाम्रो क्लासका केटा र केटी ले शायदै चलाए ।
‘लोकल’ नै थियो पाटन को पढाइ । कुनै क्लास पुरै खाली, कुनै खचाखच । बेन्च बसाईमा उहि युनिभर्सल चलन: केटी केटी सँग, केटा केटा संग । केहि सामान्य अपवाद थिए, तर उनका आफ्नै कारण । उ फरक थिई । आफूलाई पायक जहाँ पर्थो त्यहि बसिदिन्थी, केटा-केटी नभनि । केहि समय हामीलाई अप्ठ्यारो नभएको होईन, दुई जना केटा बसेको ठाउँमा उ आएर बसिदिन्थी । प्रशंग बदलन्नु पर्थ्यो । बिस्तारै उसको यो बानी सँग सामान्य हुन सकियो । यस्तै केहि अरु बिशेषताहरु बोकेर आउँथि उ । हामी केहि बेर अप्ठेरो, असामान्य अनुभव गर्दथ्यौ अनि अभ्यस्थ हुन्थ्यौ । पढाइ चल्दै गयो ।
एउटा आफ्नै खाले बजार थियो पाटन क्याम्पस । सबै आ-आफ्ना पोको बोकेर आँउथे । सुकुल ओछ्याएर दाम राख्दथे । कोई सबै बिक्री गरेर दंग, कोहि नाफा कमाएर आनन्दित। कसैको ब्यापार सुक्खा हुन्थ्यो अनि ओइलिएको निगुरो सरी फर्कन्थे । कोही भोलिको लागि आजको भाउ कम राख्दथे । कोहि सम्बन्ध बेच्दथे, कोहि जोड्दथे । सबैका आ-आफ्ना दाउ थिए, त्यो बजार नै थियो । हरेक दिन बजार लाग्दथ्यो । हरेक दिनका अवषेशहरु रहन्थे । बास्तविक बजारबाट फरक यति थियो, बास्तविक बजारमा छरिएका अवशेषहरु सफा गरेपछी हट्दछन्, यस बजारका कति अवशेष सफा हुन्छन्, सफा गरिन्छन् । कति भने सदा सदाका लागि रहन्छन् । आज म यस्तै केहि अवशेष निफन्दै छु ।
त्यो एउटा खास समय थियो आफ्नै महत्व बोकेको । कोहि जागिरे, कोहि संघर्षरत, कोहि नवबिवाहित, कोहि आफै सँग अनजान। ब्यवहारले छिप्पट बनाई नहालेको र अल्लारेपनले लगभग छोडि सकेको जस्तो अवस्था थियो । एउटा परिचित मध्यम बर्गिय ‘ट्रान्जिट’ । हामी त्यहि थियौं । त्यो अवस्थामा पाटनको वातावरणले हामीलाई जागिरे दाउपेच नजान्दाका खल्ला वातावरण बाट बिर्साउदैन मात्र थियो, अल्लारेपनको ह्याङ्ग ओभरमा थोरै भएपनि अमिलो निचोरी दिन्थ्यो । हामी जान्थ्यौ पाटन क्याम्पस ।
उ एकलकाटे भने थिइन । तर पनि सम्बन्धहरुलाई शिष्टाचार भन्दा केहि पर मात्र लग्दथी । निश्चित परिधि भन्दा अगाडि कहिले बढाइन । भेट्दा हाँस्दथी, सोध्न पर्ने प्रश्न सोध्दथी, खानु पर्ने चिया खाइदिन्थी । तर उसले न कहिले हाम्रा बारेमा धेरै जान्न खोजि न हाम्रा बारेमा । यो उसको बानी थियो वा बाध्यता, हामी कसैले जानेनौ, जान्न चाहेनौ । किन र? हामी त्यसै थियौ ।
बिस्तारै, उसको यो बानि हामीलाई खट्कन शुरु भयो । हामी केटाले भन्दा समकक्षी केटी साथीहरुले चित्त बुझाएनन् ।
‘खुब ‘एक्ट्रा’ हुन पर्ने त्यसलाई’
यहि तक्मा पाई एकदिन उसले । आयोजना गरेको पिकनिकमा उ गईन । उसका कुरा काटिए । अलिकति बढेका सम्बन्धहरु फिर्ता भए । उ एउटा बिषय बस्तु बनि । जब मान्छेहरु हाम्रो परिभाषा भन्दा बाहिरिन्छन् । हामी एउटा विशेषण लगाइ दिन्छौ । बस हाम्रो काम सकियो । हाम्रो चासो त्यहि विशेषणबाट शुरु हुन्छ अनि हाम्रा तमाम ब्याख्याको निचोड त्यहि बिशेषण नै हुन्छ । हामी यहि सिक्दै आएका छौ, यहि भोग्दै आएका छौ र यसैलाई निरन्तरता दिन्छौ । उ फरक थिई, उसले बिशेषण पाई ।
उसलाई मतलब थिएन । उ त उ नै थिइ । आफ्नै हिसाबले आउने आफ्नै हिसाबले जाने । कता कता हामीले उस्तो वास्ता नगरेको थाहा पाएकि हुँदि हो । तर उसलाई केहि असर थिएन । हामी टाढिंदा उ नजिकिन खोजिन । अनि हामीलाई त्यसैमा पनि खट्कियो । उसले अर्को बिशेषण पाई ।
उ सँगको बोलचाल हाय-हेल्लो मा नै सीमित भइसकेको थियो । उ भने उ नै भइ रहि । रत्तिभर पनि बदलिन । कक्षामा हाँस्नु पर्ने प्रसंगमा उ हाँसी दिन्थी । हाम्रा लागि उ अपराधी जस्ती उभिनु पर्ने । उसलाई हाम्रो चाहाना थाहा नै भएन वा मतलब भएन । हामीलाई त्यसले कता कता त्यो हँसाई नजानिदो बिझाउँथ्यो । हामीलाई भन्दा हाम्रा केटी साथीलाई अलिकति बढी ।
‘केटो रहेछ नि त त्यसको’ एक दिन खबर आयो ।
बस, उसका बारेमा पोखिएका तमाम ब्याख्याले पुष्टी पाए । उसका सबै बानिको जड त्यहि तथ्यमा निर्क्योल गरियो । हाम्रो काम सकियो । हाम्रा उ माथिका तमाम उकुसमुकुस केवल त्यो तथ्यले लगिदियो । हाम्रा लागि उ अब एउटी अर्कि केटी मात्र भइ, जसको एउटा केटो थियो । हामी अब त्यहि सेरोफेरोमा मात्र कुरा काट्न थाल्यौ । हाम्रा गफमा उ कहिले एउटा प्रसंग हुन्थी कहिले हुदैन थिइ ।
समय बित्दै गयो । परीक्षा निजिकिदै जाँदा पाटनको पढाई पनि दगुर्न थाल्यो । कोर्ष सकाउने धमाधम । परिचित हतारिदो समय । उ केहि अनियमित हुंदै गएकि थिइ । हामीलाई उस्तो वास्ता थिएन । कहिले काँहि छुटेका क्लासको कपि माग्थि कहिले माग्दिन थिइ । हामी आफैमा ब्यस्त हुन थाल्यौ ।
आईतवारको दिन थियो । घाम चर्किसेकेको थिएन । पाटन चिसो चिसो नै थियो । केहि दिन मात्र थिए क्लास सकिनलाई । उ अघिल्लो हप्ता भरि नै आएकि थिईन । त्यो दिन पनि आईन ।
एउटा उड्दो खबर आयो ।
‘उसले आत्महत्या गरि रे’
सबै स्तब्ध भयौ । त्यो क्षणमा न हामीले उसका बानि ब्यहोरा संम्झियौं न उ माथिका अमिलोपनहरु । एउटा गहिरो आश्चर्य भरियो । हामीले विश्वास नै गर्न सकेनौ । विस्तारै खबरले आधिकारिकता पाउँदै गयो । हामी सबै दु:खी भयौ । उसको माया लागेर आयो । उसँग अलिकता नजिकिन मन लाग्यो । उसको दु:ख बुझ्न मन लाग्यो । उसलाई सान्त्वना दिन मन लाग्यो । उसलाई सम्झाउन मन लाग्यो । तर त्यो सम्भव थिएन । हामी झनै दु:खी भयौ ।
‘प्रेमको तनावले होला । ‘
‘घर परिवारमा कुरो मिलेन होला, बाउ-आमाले मानेनन् होला’
‘केटाले धोखा दियो होला’
यस्तै यस्तै अनेक अड्कल काटिए । शनिवार दिउँसोको घटना, पोस्मर्टम गरेर जलाई सकेछन् । क्याम्पसमा शोक सभा भयो । १ मिनेटको मौन र २-४ दिनको जल्दो बल्दो बिषयबस्तु । उसको मृत्युले त्यती नै कमायो पाटन क्याम्पसको सेरोफेरोबाट ।
‘किन गरेकि होलि त्यस्तो decision?’
‘त्यस्ता हुतिहाराले बाँच्नु भन्दा मर्नु निको’
‘एउटा जाबो नभेटिए अरु हजार आउँछन’
‘केहि न केहि समाधान भइ हाल्थ्यो नि, आत्महत्या त समाधान होईन नि’
यस्तै यस्तै । कतिले गालि गरे, कतिले सुझाब दिए, कतिले सान्त्वना । तर उसले केहि लिईन । उसले भएका सबै चिज त्यागेर मृत्यु अँगालि सकेकी थिई ।
‘केटोसँग break up गरेकि रे आफैले, बाउ-आमा त मानेका थिए रे । १० क्लास पढ्दा देखि सँगै थिए रे’
उसको मृत्युको तमाम सार यति निकालिएको थियो । उसले मृत्यु अगाडि २ लाईन लेखेकि रहिछे ।
“म गल्ती गर्दै छु । भविष्यको सँधै सुन्दर हुन्छ । तर मान्नुहोस आमा बुवा, मेरो सुख यसैमा छ ।
अस्तु“
उसका अन्तिम भनाई, उ जस्तै थिए । ब्याख्या बिहिन र गह्रौं ।
0 comments:
Post a Comment
Send me comment for make strong to this blog....