पापी समय र निष्ठूरी मायालु









पापी समय र निष्ठूरी मायालु





  


Kedar Shrestha

HTML clipboard Collect by dEEp
समयको चक्र घुम्दै जाँदा मानवीय जीवन जिउने क्रममा कति दिन हाँसेर, कति दिन रोएर बिताइयो होला, त्यसको कुनै लेखाजोखा छैन ।जुवाडेको हिसाबकिताबजस्तै । बालापनको सखीहरू एकादेशको राजकुमारजस्तै भइसक्यो । को कहाँ के गर्दैछन् ? कस्ता भए ? अत्तोपत्तो छैन । म सम्झन्थेँ समयलाई मान्छेले पछि लगाउनु पर्छ न कि मान्छेलाई समयले । तर, मैले सोंचेजस्तो हुँदोरहेनछ । समय मान्छेको माउते नै रहेछ । करै लाग्दो रहेछ समयको बन्धनभित्र बाधिनको लागि मान्छेले ।
खाना खाइसकेपछि टी.भी. हेरिरहेको छु । आज दिशानिर्देश आउने दिन, त्यसैको प्रतीक्षामा छु । प्रायः दिशानिर्देश म कहिल्यै छुटाउँदिन किनकि म विजयकुमार पाण्डेको फ्यान हुँ । म उनको प्रश्न सोध्ने शैलीबाट अति प्रभावित छु । त्यतिमात्र नभएर यो कार्यक्रम
ज्ञानवर्द्धक पनि छ । टी.भी. मा कार्यक्रम सुरु भयो । आजको पाहुना को रहेछ भनि नियालिरहेको थिएँ । तर, आजको पाहुना व्यक्ति नभएर देश रहेछ । कर्णालीमा मोटर पुगेको अवसरमा जुम्लाको यथार्थ देखाइएको रहेछ । साँच्चै नै त्यँहाका मान्छे कति खुसी भएका मोटर गाडि देख्दा, कति अन्जान देखिन्थे मोटर गाडि चल्दा । अलि बाठो देखिने वालक विजयकुमारसँग कुरा गर्न कहिले आइपुग्थ्यो त कहिले अलि माथि डाँडामा गएर जुम्लामा गाडि आयो भन्दै कुर्लन्थ्यो । लाग्थ्यो, उसको बालाजीवनको पहिलो आत्मैदेखि नै खुसी भएको क्षण हो यो । कार्यक्रम विश्लेषण गर्ने क्रममा विजयकुमार पनि कहिले प्रफुल्ल मुद्रामा देखिन्थे त कहिले भावुक र गम्भिर मुद्रामा देखिन्थे । उनले सयौ भाग दिशानिर्देश चलाए होलान्, अरु भागले के कस्तो असर पार्यो मान्छेलाई त्यो त थाहा छैन मलाई तर यो भागले भने एउटै मुलुकमा दुई देश रहेछ भन्ने संकेतमात्र नभएर शासकवर्ग सत्ता र सुविधामा मात्र झुम्मिदा रहेछन् र देशको अवस्थासँग अनभिज्ञ हुँदारहेछन् भन्ने कुराचाहिँ उजागर गर्न सफल भए उनी । म उनीप्रति ऋणि छु । घरमै बसी-बसी जुम्लाको बारेमा धेरथोर जान्ने मौका पाएकोमा । साह्रै मार्मिक थियो यो भाग ।
       कार्यक्रम सकियो । पल्टेको छु ओछ्यानमा । नानाथरिका कुराहरू खेलिरहन्छ मनमा । घरिघरि आइरहन्छ मानसपटलमा सिनेमाको दृश्यजस्तै कोही खुसीले, कोही डरले ती अवोध बालबालिकाहरू गाडि देख्दा कराएका र भागेका क्षणहरू । झन विजयकुमारलाई कति यादले सताउादो हो कार्यक्रम सुटिङ्ग गर्न जाँदा देखेको समाजको वास्तविक परिदृश्य, जुम्लाको परिवेश र भू-वनोटले । जसरी म आफ्नो जीवनको एक मोडमा भएको क्षणलाई कहिल्यै भुल्न सक्दिन । त्यो क्षण यसरी सुरु भएको थियो-
       पारिवारिक अवस्था अलि कमजोर भएकोले एसएलसी पछि पढ्न सकेको थिइनँ । गाउँमै प्लस टु खुलेपछि पढ्न सुरु गरेको थिएँ । कक्षा सुरु भएको एक महिना पछि एउटी गोरी केटी हाम्रो कक्षामा पढ्न आउन थालिन् । ऊ साह्रै हिस्सी परेकी थिई । ऊ बोल्न नडराउने र नलजाउने वहिर्मुखी स्वभावको रहेछ । उनि आएकै दिन मलाई सोधी-हाम्रो ऐच्छिक विषय कुन हो ?
       मेरो छुच्चो मुख उघ्रिहाल्यो नेपाली भन्दै उसतिर प्रश्न तेर्स्याउछु-वैनीको घर कता पर्यो होला ? मन्द मुस्कानमा भन्छे-साखामाढी।
अनि तपाईंको नि ?
केदार श्रेष्ठ'गगन' भीमस्थान एकै सासमा भनिदिन्छु नाम सहित ।
वैनीको नामचाहिँ ?
सरु
       भर्ना गर्न किन ढिला गरेको त ? जिज्ञासा राख्छु उसको बारेमा । अर्काको ढोका पोत्ने जात भनेर बुबाले नपढाउने भन्नुभयो पहिले मैले रोइ कराइ जिद्धी गरेपछि पढ्न जाउ भन्नुभयो। त्यही भएर.............
       मनमा सोच्छु एक्काइसौं शताब्दीका भएर पनि समयलाई चिन्न सकेका छैनौ हामीले । अझैँ छोराछोरीमा भेदभाव गर्छौ । अझै जनचेतनाको कमी छ हामीमा ।
       हजुरबुबाले जसरी पनि बुबालाई बोलाइदे भनेर कर गर्नु भएको धेरै दिन भइसक्यो । नेताहरूले भाषण गर्दा कोही सिङ्गापुर बनाउँछु भन्छन्, कोही स्वीजरल्याण्ड बनाउँछु भन्छन् नेपाललाई । तर, खै धेरै वर्ष बितिसक्यो हाम्रो ठाउँमा न मोटर देखियो न विजुली झुल्कियो । न टेलिफोनको तार नै झुण्डियो । त्यसैले फोन गर्नको लागि सिन्धुली बजार जानुपर्ने भयो । बिहान उठेर लागेँ फोन गर्न बजारतर्फ साथमा गोपाल पनि छ । ऊ मेरो साह्रै मिल्ने साथी हो ।
       फोन गरेँ बुबालाई ।
       हेलो ! कमल सरलाई पाउन सकिन्छ होला ?
       हजुर म बोल्दैछु । तपाईँ को बोल्नु भएको हो ?
       सायद मलाई चिन्नुभएन होला ।  म केदार बोलेको, सन्चै हुनुहुन्छ बुबा ?
       सन्चै छु । के छ हालखवर घरतिरको ?
       राम्रै छ । बुबा घर आउने हैन ?
       एक महिना पछि आउँला । अहिले पैसासैसा पठाइदिन्छु घरब्यवहार मिलाउदै गर्नु हुन्न र ?
       अहँ हुँदैन पैसाले । दुई वर्ष भइसक्यो अझै घर आउने विचार छैन जसरी भए पनि तपाईँ घर एकपल्ट आउनै पर्छ । ढिपी गर्छु ।
       त्यसो भए तँ पनि काठमाण्डौं आइज न त एकदुई दिनपछि सँगै फिरौँला ।
       काठमाडौं जाने भएँ । त्यसदिन सिन्धुली बजारमै बास बसेँ । अर्को दिन विहानै म काठमाडौं तिर लाग्छु, गोपाल घरतिर लाग्छ ।
       मौकामा चौका हान्नु पर्यो भनेर काठमाण्डौ पुगेको भोलिपल्टै लागेँ भोटाहिटीतिर आफूलाई चाहिएको दुईचारवटा किताब किन्नको लागि । किनकि आफूले खोजेको लेखकको किताब हाम्रोतिर पाइदैन । खाए खा नखाए घिच भने जस्तै हो ।
       वेलुका बुबा अफिसबाट फर्केपछि हजुबुबाले भनेको सबै कुराहरू सुनाउछु । त्यसपछि बुबाले घर जाने निधो गर्नु भयो । म हतारिन्छु । डर छ मलाई पढाई छुट्छ भन्ने । अलिअलि झल्को सरुको पनि । एक हप्ताको काठमाण्डौको बसाइ पछि घरतिर लागियो बुबा, म र फुपूको छोरा जीवनसँगै ।
       घर गएको भोलिपल्टै जान्छु प्लस टु पढ्नको लागि । ऊ हताश मुद्रामा देखिन्थी । मैले ङिच्च दाँत देखाउदै सोधेँ-कति पढाउनु भयो सरहरूले ?
       एकएक टपिक्स अगाडि बढेको छ भन्दै मलाई एउटा खाम दिई ।     
       म झस्किन्छु । के दिई यो । के छ यसमा । थाहा छैन मलाई । हेर्न आतुर छु डरडर लागिरहेको छ । मैले केटीको हातबाट आजसम्म खाम यसरी पाएको थिइन । सायद, त्यही भएर होला धड्कन बढिरहेको ।
       मैले त्यो खाम स्कुलमा खोल्ने आँट गरिन । घरमा गई ढोका बन्द गरेर पढ्न सुरु गरेँ । त्यसमा यस्तो लेखिएको थियो-
       समुद्रभन्दा गहिरो, नदीभन्दा लामो मुटुभरिको माया । कहाँबाट सुरु गरौं मनको बह पोख्नलाई । हजुरको अगाडि मुख खोल्न सकिनँ त्यसैले यो दुई अक्षर लेख्दैछु । केटा मान्छेको जात कस्तो हुँदोरहेछ ? यत्रो दिनसम्म कहाँ जानुभएको थियो ? यहाँ जान्छु पनि छैन त्यहाँ जान्छु पनि भनेको हैन । साह्रै निष्ठूरी हुँदोरहेछ । आफूलाई एकदिन नदेख्दा एक वर्ष नदेखेजस्तो हुन्छ हजुर भने..............
       रातमा निद्रा छैन दिनमा भोक
       बैंसमा लाग्यो हजुर मायाको रोग ।
       खै ! के भएको यस्तो मलाई । आजभोलि यो गीतमा भनेजस्तै हुन्छ । मेरै व्यवहार थाहा पाएर गीतकारले यो गीत लेखेजस्तो लाग्छ । भावनामा हावासँगै बहिरहन्छ मन । पढ्दा पनि किताबका पानाहरूमा तपाईँलाई मात्र देख्छु । म जहाँ भएपनि मेरो मन हजुरसँगै हुन्छ । मलाई हजुर अति मन पर्छ । मेरो मुटुको ढुकढुकीमा हुनुहुन्छ । सायद, तपाईँ नभए मेरो मुटु चल्नै छाड्छ होला ।
       म तपाइँसँग टाढा भएर बस्न सक्दिन । जसरी आकाश र तारा, नदी र पानी, नङ्ग र मासु छुट्टदिैनन् । त्यसरी नै म तपाईँसँगै जीवन बिताउन चाहान्छु, म तपाईको दुःखमा दुःख मिलाएर यो छोटो जीवन व्यतित गर्नलाई तपाईंको जीवनमा बेहुलीको घुम्टो ओढी आउनलाई तयार छु । हजुरको न्यानो अङ्गालोमा बाँधिन आँतुर छु । तपाईको के बिचार छ त्यो थाहा छैन मलाई । तर पनि यो दुःखीलाई घृणा र यो दुःखीको अनुरोधलाई तिरस्कार गर्नुहुन्न भन्ने आशामा छु । तपाईको सुकोमल हातबाट लेखिएको दुई अक्षर मेरो प्रस्ताव स्वीकारसहित आउने प्रतिक्षामा बसिरहेकी छु । ल त अहिलेलाई विदा ।
                                                       उही तपाईकी प्यारी, सरु
       चिठी पढिसकेपछि  प्रथम रजस्वला भएपछि स्नान गरी घाम ताप्दै गर्दा एउटा नवयौवनालाई जस्तै केही पाएजस्तो, केही गुमाएजस्तो, कताकता डर लागेजस्तो, कताकता खुसी भएजस्तो भइरहन्छ । चङ्गासरि हावासँगै उडिरहन्छ मन ।
       केही दिन मनमा गनथन गरी दिमागले शब्द मनथन गर्दै उसको प्रेमप्रस्ताव स्वीकारसहित दुई अक्षर लेखेर दिएँ । उः धेरै खुसी भई । यसैगरी दिनहरू बित्दै गए । यस समयमा हुनेनहुने सबै राम्रा नराम्रा कामहरू भए हामी बीचमा । तड्पाइमा बस्नुपर्दा मात्र रात-दिनहरू लामा र कहाली लाग्दा हुँदा रहेछन् । उसको र मेरो साथमा बितेका यी क्षणहरू दुई बर्ष दुई दिनमै गएजस्तो लाग्यो मलाई । प्लस टु को पढाई सकियो । पढाई राम्रै भएकोले दुबैजना पास भयौ ।
       उसले सिन्धुली बजारमा नै आफू पढ्ने नपढ्ने टुङ्गो नभए पनि मलाई पढ भन्ने योजना बनाएकी रहिछिन् । मेरो हात सुमसुम्याउँदै भन्छिन् ढुङ्ग्रेवास क्याम्पसमा नै पढौँ है ? बेलाबेलामा भेट भइरहन्छ । टाढाको अनुभव हुन पाउँदैन नि, टाढा नजानुस् है ?
       घरको खर्चले प्रइभेट क्याम्पस पढ्न नसक्ने र वीरगञ्जतिर सानोतिनो काम गर्दै सरकारी क्याम्पस पढ्ने योजना गोपाल र मैले बनाएको बताउँछु । गोपाल वीरगञ्जतिरको भुक्तभोगी हो । उसलाई वीरगञ्जतिरको बारेमा सबै थाहा छ । तिमी मेरो लागि र म तिम्रो लागि जन्मेको र स्वच्छ पवित्र माया भए कसैगरी पनि हामी हाम्रै हुन्छौ, धेरै कुरा नखेलाउनू मनमा मेरो बारेमा केही चिन्ता लिनुपर्दैन । पीर चिन्ताले ज्यान खान्छ । यसरी उसलाई शब्द सान्त्वना दिन्छु ।
       मेरो निर्णयले सरु धेरै बेर मेरो काखमा घोप्टो परेर रोइरही । उसको आँखाबाट बगेको आँसुलाई पुछ्दै सम्झाउछु यसरी रोएर हुन्छ त लाटी, आँसुले प्रगतिको बाटो रोक्छ, रुनुहुन्न ।
       सुँक्कसुँक्क गर्दै फेरि भन्छे यता पढ्न नसक्ने भए बरु पढ्नु पर्दैन ।
       म केही बोल्दिन । चुप लागेर उसको अनुहारतिर आएको कपाललाई खेलाएर बसिरहन्छु । म पढ्नलाई छाड्न चाहान्नथेँ । नपढेर मैले धेरै हण्डर, गोत्ता र पीडा भोगिसकेको थिएँ ।
       समय परिस्थितिले नै मान्छेलाई नजिक र टाढा पुर्याउँदोरहेछ । मान्छेले बल गरेर हुन्न रैछ ।
       गोपाल र म लाग्छौ वीरगञ्जतिर । उता लाग्नु भन्दा अघिल्लो दिन सरुलाई भेटेर फर्किने बेलामा गहभरि आँसु पार्दै भनेकी थिई- हाम्रो भेट कहिले हुन्छ ? शंका लागिरहेछ मलाई । यो अन्तिम भेट त हुने होइन ? मेरो विहे गरिदिने कुरा चल्दैछ घरमा ।
       बोल्न खोज्छु । बोली अबरुद्ध हुन्छ । बल्लबल्ल भन्छु एक महिना पछि भेट भइहाल्छ नि, आफैलाई सम्हाली बस जस्तै हुरीबतास आएपनि केही हुने छैन ।
       खै उसले के बुझी टोलाएर हातको औंला पड्काउँदै मुण्टो हल्लाउँछे ।
       यताउति हेर्दै एकपटक छातिमा टास्छु र बिदा हुन्छु । उसले डाँडाले नछेकुन्जेल मलाई हेरिरही । जव ऊ र म देखिन छाड्यौँ तब मेरो मनमा पूणिर्मामा ग्रहण लागेजस्तो भयो ।
       क्याम्पस जाडो विदा भयो । घर फर्के । उसलाई भेट्न मन हतारिरहेको छ । तर कसरी के निहुँ बनाउने हो ढिला भएकोमा सोंचिरहेको छु । जे होला भनेर लाग्छु भेट्नलाई उसको घरतिर । तर, भेट हुन सकेन । उनी त अरु कसैको भइसकिछ । बिजुली चम्केर चट्याङ्ग बज्रेजस्तो भयो । साह्रै रिस उठ्यो । मसँग बिहे गर्छु भन्नलाई जातले छेकेको भए तापनि एक वर्ष बिहे गर्दिन भनेको भए भइहाल्थ्यो होला नि । म उतै जिन्दगी बिताउन गएको हैन आखिर । फेरि सोच्छु मैले उसले भनेको मानेर यतै पढेको भए सायद यो पीडा खप्नु पर्दैन थियो होला । पछुतो लाग्छ उसको कुरा नसुनेकोमा मलाई । मनमा वेदनाको भेल नदी बगेजसरी बगिरह्यो, चैत्रको खडेरीमा आगो दन्केसरि आगो दन्किरह्यो छातिभित्र, रातभरि निद्रै परेन । यताउता पल्टिरहेँ ओछ्यानमा ।
       रातभरिको छटपटाइपछि बिहानीपख एउटा गीति कथा लेख्छु पीडा र पश्चातापले भरिएको र पठाउछु सुरसंगममा ।
       ऊ सधै सुन्थी सुरसंगम । अहिले पनि प्रत्येक बिहिबार राति साढे नौ बजे नवजीवनसाथीसँगै रेडियो कानमा राख्छिन् होला ।
       सरु अहिले अर्कैको भए पनि मेरै भएर नाचिरहन्छिन् आँखाभरि बिर्सु भन्छु झन उर्लिएर आउँछ वेदनाहरू, अधुरै रहे उसले र मैले देखेका सपनाहरू ।
       गल्ती कोबाट भयो ऊबाट वा मबाट थाहा भएन तर धोका भयो पहिलो प्रेममा । पहिलो प्रेम त क्यान्सर नै हुँदोरहेछ बिर्सुँ दुख्छ,
       सम्झुँ दुख्छ
       मृत्युवरण गरुँ
       असफलताको जीत हुन्छ
       खै के गरुँ ? खै के गरुँ ?
       टाउके डाँडाभरि अझै प्रत्येक वसन्तमा रातै गुराँस फुल्ने गर्छ, त्यही फूल चुल्ठोमा सिउरेर गुराँसको फेदमुनि मेरै प्रतिक्षामा बसिरहेकी छिन् कि जस्तो लागिरहन्छ । दौडेर जान्छु, खोज्छु मेरो मायालुलाई तर त्यहाँ हुन्न । त्यहाँ गिज्याएर जान्छ हावाले मलाई । टाढा-टाढा कुनै घरमा मधुर स्वरमा कर्णदाशको यो गीत बजेको सुनिरहन्छु टोलाएर-
       भेटिएर छुट्नुभन्दा नभेटिएकै जाति हुन्थ्यो
हामीबिचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो ।
र धन्यवाद दिन्छु पापी समय र निष्ठूरी मायालुलाई ।

भीमस्थान-,सिन्धुली
हाल-अनेसास यू...च्याप्टर


0 comments:

Post a Comment

Send me comment for make strong to this blog....



 

All-In-One Copyright © 2010 Premium Wordpress Themes | Website Templates | Blog Templates Designed by Lasantha